अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ। एयर इन्डियाको बोइङ(७८७ विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त बनेको थियो। विमान अहमदाबादबाट लन्डनको गेटविकका लागि ‘टेकअफ’ गरेको थियो।विमानमा १० जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार थिए। जसमा १ सय ६९ जना भारतीय नागरिक सवार थिए भने ५३ ब्रिटिश नागरिक रहेका थिए। त्यस्तै, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेको एयर इन्डियाले जनाएको छ।
विमान अहमदाबादबाट १:३८ बजे उडान भरेको थियो। तर उक्त विमान १:४० मै दुर्घटनामा पर्यो। विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजयी रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनाग्रस्त इलाकाबाट अहिले पनि उद्दार कार्य जारी रहेको छ। पछिल्लो विवरणअनुसार करिब १०० जनाको शव निकालिएको जनाइएको छ। ठूलो मानवीय क्षति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहसहित उड्यनमन्त्री राममोहन नायडू पनि दिल्लीबाट अहमदाबाद प्रस्थान गरेका छन्।
एम्बुलेन्सबाट अस्पताल लगिएका शवहरु नचिनिने गरेर जलेका छन्। यस्तोमा प्लेनमा सवार यात्रीहरुको बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको जनाइएको छ। दुर्घटनापछि घटनास्थलमा पनि निकै समय आगो लागेको थियो। जसका कारण भग्नावशेषसमेत जलेर खरानीको डल्लोमा परिणत भएको छ।