काठमाडौं – त्रिकोणात्मक टि २० सिरिज अन्तरगतको दोस्रो म्याचमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । ५ ओभरभित्रै स्कटल्यान्डको माथिल्लो क्रमका ५ ब्याट्सम्यानहरु पेभिलियन फर्किएका छन् ।
नेपालले आज नयाँ रणनीति अपनाउँदै पहिलो ओभरमा स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न पठाएको थियो । यो रणनीति सफल पनि भयो ।
दीपेन्द्रले आफ्नो तेस्रो बलमै स्कटल्यान्डका ओपनर मार्क वाटलाई बोल्ड गरिदिएका छन् । उनले एक रन मात्रै जोडेका थिए । दीपेन्द्रले आफ्नो पहिलो ओभरमा एक रन मात्रै खर्चिए ।
यस्तै, दोस्रो ओभरमा नेपाललाई दुई सफलता मिल्यो । करण केसीले आफ्नो तेस्रो बलमा अर्का ओपनर जर्ज मुन्सेलाई ऐरीको हातबाट क्याचआउट गराए । लगत्तैको बलमा लियाम नाइलर रनआउट भए ।
चौंथो ओभरमा फेरि करणले आफ्नो खातामा एक विकेट थपे । फिनले म्याक्रेथलाई उनले रुपेश सिंहको हातबाट क्याचआउट गराए । पाँचौं ओभरमा ललितले नेपाललाई अर्को सफलता दिलाएका छन् । ओभरको पाचौं बलमा उनले भरपर्दा ब्याट्सम्यान ब्रान्डेन म्याकमुलनलाई राहित पौडेलको हातबाट क्याच गराए । यो समाचार बनाउँदासम्म स्कटल्यान्डले ६ ओभरमा ५ विकेट गुमाएर ३२ रन जोडेको छ ।