जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा मात्रै बाँकेमा ४७ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जनाएको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका ४७ अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो ।
उहाँले पक्राउ परेका फरार अभियुक्तबाट एक करोड आठ लाख ८४ हजार २५५ रुपियाँ राजस्व समेत सङ्कलन गरिएको पनि बताउनुभयो । अदालतले सजाय तोके पनि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीति अनुसार अदालतमा बुझाइएको एसपी घर्तीमगरले बताउनुभयो । केही समयअघि जिल्लामा सुरु गरिएको फरारहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत हरेक महिना ५० जना जतिको हाराहारीमा फरारहरुलाई पक्राउ गर्ने कार्य भइरहेको जनाउँदै प्रहरी उपरीक्षक घर्तिमगरले सो अभियान निरन्तर जारी रहने जनाउनुभयो ।
उहाँले जेठ महिनामा ५२ लाख ३७ हजार ८८२ रुपियाँ बराबरको भन्सार छलीको अबैध सामानसहित चार वटा मोटरसाइकल, एक ई–रिक्सा र एउटा कार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाएको बताउनुभयो ।
यसैगरी, प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार १७५ वटा सवारी साधनलाई कारबाही गरी २५ लाख १२ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ । एक महिनाको अवधिमा १०१ वटा मुद्दा दर्ता भएकोमा उजुरी परेका १०७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको एसपी घर्तीमगरले जानकारी दिनुभयो । उहाँले ४७ जना फरार अपराधीलाई पक्राउ गरी पाँच वर्ष तीन महिना कैद असुल उपर गरिएको पनि बताउनुभयो ।
लागु औषध दुर्व्यसन र ओसारपसारविरुद्ध कडा रूपमा प्रस्तुत भएको बाँके प्रहरीले ७३८ ग्राम ४७४ मिलिग्राम ब्राउनसुगर, ३०० मिलि लिटर कोरेक्स, १११ किलो गाँजा, तीन हजार सात ६० मिलिग्राम चरेश, ५० ट्याब्लेट ट्रामाडोल र ७० ट्याब्लेट नाइट्रोजेपामसहित ओसारपसार तथा सेवन गर्ने ३४ जनालाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ ।