नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेसियाको युकेएम ओभलमा शनिबार सम्पन्न फाइनलमा सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । सिङ्गापुरले दिएको एक सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रनको महत्त्वपूर्ण योगदान दिनुभयो। साथै शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रन बनाउनुभयो ।
सिङ्गापुरका लागि कपिस भेन्कटरमनले चार विकेट लिए भने युवान पाण्डेले दुई विकेट लिए।साथै भेदान्स गुप्ता र आकाश तेजाले एक, एक विकेट लिनुभयो । सामान्य लक्ष्य पछ्याएको नेपालले १३ रन बनाउँदा पहिलो विकेट गुमायो। त्यसपछि शिवान्स बजगाईँले एक छक्का र दुई चौकाको प्रहार गर्दै आक्रामक ब्याटिङ गर्दै पारीलाई अगाडि बढाउनुभयो। नेपालले ४० रन बनाउँदा लगातार दुई विकेट गुमाएपछि दबाबमा पर्यो। नेपालले ५८ रन छँदा थप दुई विकेट गुमायो ।
छैटौ विकेटका लागि नेपालले जोय थापा र शुभम खनालले महत्त्वपूर्ण ३३ रनको साझेदारी गर्नुभयो । नेपालले ९१ रन छँदा छैटौ र ९२ रन छँदा सातौँ र आठौँ विकेट गुमाएको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको योगफल बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाउनुभएको थियो । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाउनुभयो । त्यसबाहेक सिङ्गापुरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
सिङ्गापुरका लागि सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन–तीन विकेट लिनुभयो भने शुभम खनालले दुई विकेट हात पार्दा कसिलो बलिङ गर्नुभएका कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिनुभयो।