२१ चैत्र २०८२, शनिबार
जनताको विवेकपूर्ण निर्णयले देशको भविष्य निर्धारण गर्ने :उम्मेदवार ढकाल

  • टाइम्स संवाददाता

  • १८ फाल्गुन २०८२, सोमबार १९:२९

बाँके: बाँकेको कोहलपुरमा आचारसंहिता लागू हुनु अघि आयोजित पत्रकार सम्मेलनमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सूर्य ढकालले देशको वर्तमान राजनीतिक अवस्थालाई “राष्ट्र रहने कि नरहने गम्भीर मोड” को रूपमा व्याख्या गर्दै जनताको विवेकपूर्ण निर्णयले भविष्य निर्धारण गर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवार बनेका ढकालले चुनावी प्रचार–प्रसारको अनुभव सुनाउँदै मतदाताबाट उत्साहपूर्ण साथ, सहयोग र हार्दिकता प्राप्त भएको उल्लेख गरे। “जनताको अपार माया र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ,” उनले भने, “यो निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र होइन, राष्ट्रिय स्वाधीनता, स्थायित्व र समृद्धिको मार्ग रोज्ने ऐतिहासिक अवसर हो।”
उनले विगत र वर्तमान निर्वाचनबीचको भिन्नतालाई औंल्याउँदै अहिलेको चुनावले देश बनाउने शक्ति रोज्ने कि अस्थिरता र अन्योलतर्फ धकेल्ने शक्तिलाई सुम्पिने भन्ने गम्भीर निर्णय गर्नुपर्ने बताए। “जनताले सही फैसला गर्नेमा म विश्वस्त छु,” ढकालको भनाइ थियो।

बाँके क्षेत्र नं. १ तीन पालिकाको संगम भएको उल्लेख गर्दै ढकालले हरेक क्षेत्रको विशिष्ट सम्भावना र चुनौतीप्रति आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताए। राप्तीसोनारी उर्वर भूमिको धनी भए पनि राप्ती नदीको कटानले कृषियोग्य जमिन गुम्दै गएको उनको चिन्ता थियो।
नरैनापुर आर्थिक, सामाजिक र भौतिक विकासका दृष्टिले पछाडि परेको भन्दै त्यसलाई राष्ट्रिय मूलधारमा ल्याउन विशेष योजना आवश्यक रहेको उनले बताए।कोहलपुरमा विकासले तीव्रता पाए पनि तीव्र जनसंख्या वृद्धिका कारण थप पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

“मैले यी तीनै स्थानीय तहका गाउँ–गाउँ पुगेर जनताको अपेक्षा नजिकबाट बुझेको छु,” उनले भने, “त्यही अनुभवलाई योजनाबद्ध रूपमा लिपिबद्ध गर्दै समग्र विकासको स्पष्ट खाका तयार पारेको छु।”
अधुरा सपना पूरा गर्ने प्रतिबद्धता ब्यक्त्त गर्दछु ।

ढकालले अघिल्लो कार्यकाल पूरा नहुँदै पुनः निर्वाचनमा होमिनुपरेको प्रसङ्ग स्मरण गर्दै सुरु गरिएका योजना र उठाइएका एजेण्डा अधुरा नछोड्ने प्रतिबद्धता जनाए। कोहलपुर–घुइयाबारी सडक, विभिन्न पुल तथा बाँध निर्माण, तथा निकुञ्ज पीडितहरूको आवाज राज्यका निकायसम्म बुलन्द रूपमा पुर्‍याउने आफ्नो निरन्तर प्रयास रहने उनले बताए।

“म जनताको आवाज सडकदेखि सदनसम्म पुर्‍याउने पुल बन्न चाहन्छु,” उनले दृढतापूर्वक भने, “यो क्षेत्रको समग्र विकास, सुशासन र जनअपेक्षा पूरा गर्ने लक्ष्यसहित मैले उम्मेदवारी दिएको हुँ।”

पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन कमिटिका संयोजक बसन्ती अधिकारी, पार्टी उपसचिव निर्मला सुनार तथा प्रेस चौतारीका केन्द्रिय सदस्य एवं चुनाव प्रचार प्रसार कमिटीका संयोजक विष्णु प्रसाद बेल्बासे लगायत पार्टीका विभिन्न तहका नेताहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेताहरूले उम्मेदवार ढकालको विकास दृष्टि र संगठनात्मक तयारीप्रति विश्वास व्यक्त गर्दै निर्वाचनमा उत्साहजनक परिणाम आउने दाबी गरेका थिए।

पत्रकार सम्मेलन समग्रमा चुनावी रणनीति, विकासको खाका र राष्ट्रिय स्वाधीनताको सन्देश केन्द्रित रहेको थियो आचारसंहिताको पुर्वसन्ध्यामा गरिएको पत्रकार भेटघाटले बाँके क्षेत्र नं. १ को राजनीतिक सरगर्मीलाई तातेको भएपनि अबको केही दिनमा मतदाताको अन्तिम निर्णयले यस क्षेत्रको मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।

Nabintech