काठमाडौं विश्वकै अग्रणी दुईपाङ्ग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो विद्युतीय मोबिलिटी ब्रान्ड ‘भिडा (VIDA)’ लाई औपचारिक रूपमा नेपालमा प्रवेश गराएको छ। योसँगै नेपाल भिडाको पहिलो अन्तर्राष्ट्रिय बजार बनेको छ। कम्पनीले नेपालमा आफ्नो विद्युतीय सवारीको बिक्री तथा सेवा विस्तारका लागि सीजी मोटर्स (चौधरी ग्रुप) सँग साझेदारी गरेको जनाएको छ।
नेपाल प्रवेशसँगै भिडाले VIDA VX2 श्रृंखलाका विद्युतीय स्कुटर तथा युवालाई लक्षित DIRT.E K3 विद्युतीय अफ–रोड बाइक सार्वजनिक गरेको छ। कम्पनीका अनुसार VX2 श्रृंखला दैनिक आवागमनलाई लक्षित गरी डिजाइन गरिएको हो भने DIRT.E K3 बालबालिका तथा किशोर–किशोरीका लागि तयार गरिएको आधुनिक विद्युतीय अफ–रोड बाइक हो।
हिरो मोटोकर्पका अनुसार नेपालमा विद्युतीय सवारीको बढ्दो प्रयोग, चार्जिङ पूर्वाधारको विस्तार र वातावरणमैत्री यातायातप्रतिको आकर्षणलाई मध्यनजर गर्दै भिडा ब्रान्डको अन्तर्राष्ट्रिय विस्तार नेपालबाट सुरु गरिएको हो। कम्पनीले सीजी मोटर्सको विद्यमान बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई सहज बिक्रीपछिको सेवा उपलब्ध गराउने जनाएको छ।

भिडाका स्कुटरहरूमा हटाउन मिल्ने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, मोबाइल एपमार्फत नियन्त्रण, आधुनिक डिस्प्ले, बहुविध राइडिङ मोड तथा द्रुत चार्जिङ सुविधा जस्ता विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।
नेपालमा बढ्दो विद्युतीय सवारी बजारलाई लक्षित गर्दै हिरो मोटोकर्पले भिडा ब्रान्डमार्फत प्रतिस्पर्धालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। साथै, विद्युतीय दुईपाङ्ग्रे सवारी रोज्ने नेपाली उपभोक्ताका लागि नयाँ विकल्प थपिएको उद्योग क्षेत्रका जानकारहरूको भनाइ छ।










