काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार ती वडामा वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचन सम्पन्न भएको हो ।
समितिका सदस्य–सचिव राजु कटुवालले अधिवेशन उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने वडा अधिवेशन हुन सकेको छैन ।
यस्तै, सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ लगायतका क्षेत्रमा पनि अधिवेशन प्रक्रिया पूरा हुन बाँकी छ ।
निर्वाचन समितिले बाँकी रहेका वडा अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन गर्ने जनाएको छ । कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदै छ ।










