बाँकेको कोहलपुरमा तेस्रो दुर्गा पूजा भोलि (असोज २५ गते) देखि सुरु हुने भएको छ। बेटर बाँकेको आयोजनामा कोहलपुर–११, न्युरोडस्थित खुला मञ्चमा असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म दुर्गा पूजा तथा दशैं पर्व सञ्चालन हुन लागेको हो।
दुर्गा पूजाको तयारी अन्तिम चरणमा पुगेको आयोजक बेटर बाँकेका अध्यक्ष सञ्जय मण्डलले जानकारी दिनुभयो। उहाँका अनुसार पूजालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल गरी प्राप्त सुझावका आधारमा आवश्यक तयारी अघि बढाइएको छ।
दुर्गा पूजा मूल समितिका संयोजक इन्द्र गुरुङका अनुसार भोलि बिहान (घटसघटस्थापनाका दिन ) समितिका पदाधिकारीहरूले पूजा गरेपछि विधिपूर्वक दुर्गाको स्थापना गरिनेछ। असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा हरेक दिन भजनकीर्तन, भण्डारा तथा बालबालिकाका लागि बाल उद्यानको व्यवस्था रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेका विभिन्न भजन समूहले भजनकीर्तन प्रस्तुत गर्नेछन्। बडादशैंको अवसरमा राम र सीताको जीवनीमा आधारित भजन किर्तन प्रस्तुत गरिने आयोजकले जनाएको छ।
अध्यक्ष मण्डलले नयाँ पुस्ता डिजिटल युगमा प्रवेश गरिरहेको वर्तमान अवस्थामा आफ्नो कला, संस्कृति र धर्मको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विगतदेखि नै दुर्गा पूजा सञ्चालन गर्दै आएको बताउनुभयो।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको दुर्गा पूजामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सम्पूर्ण कोहलपुरवासी तथा श्रद्धालु भक्तजनलाई आग्रह गरेको छ।








