नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गर्नुभएपछि प्रतिस्पर्धा सुरु भएको हो । नगर प्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
दुईदिने प्रतियोगिताअन्तर्गत शनिबार दिउँसो ३ बजेसम्म १७ वटा इभेन्ट सम्पन्न भएका छन् । प्रतियोगितामा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले ११ स्वर्ण पदक जित्दै अग्रता लिएको छ ।
भारतको नयाँ दिल्लीस्थित इलाइट स्वीमिङ एकेडेमीले चार स्वर्ण जितेको छ । त्यस्तै, ललितपुरको रातो बङ्गला स्कुल र काठमाडौँको मपिल क्यानेडियन स्कुलले एक–एक स्वर्ण जितेका छन् ।
प्रतियोगितामा आठ वर्षमुनिदेखि १७ वर्षसम्मका तथा १७ वर्षभन्दा माथिका खुला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीले फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाई, रिले र व्यक्तिगत मेड्ले गरी छ विधाका ८० इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शनिबार केही इभेन्टको हिट चरण सम्पन्न भएको छ भने आइतबार फाइनल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा आयोजना भइरहेको प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट गरी १५० खेलाडी सहभागी भएका छन् ।
च्याम्पियनसिपलाई नबिल बैंकले मुख्य प्रायोजन गरेको छ । स्वीमिङ खेलको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जका खेलप्रेमी उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाको पहलमा नेपालगन्ज स्वीमिङ क्लब गठन गरिएको हो । यो लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब रहेको आयोजकले जनाएको छ ।





















