३० कार्तिक २०८३, आईतवार
फुटबल रंगशाला निर्माण सम्पन्न

  • टाइम्स संवाददाता

  • १८ कार्तिक २०८३, मंगलवार ११:५२

बाँकेको कोहलपुर नगरपालिका–२ स्थित १३ बिघा खेल मैदानमा ७ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको फुटबल रंगशाला शिलान्यास भएको एक वर्षभित्रै सम्पन्न भएको छ। रंगशाला निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम तयारी भइरहेको छ।

कोहलपुर नगरपालिकाको गौरवको आयोजनाका रूपमा हेरिएको उक्त रंगशालाका लागि आर्थिक वर्ष २०८३/०८४ मा थप ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

हालसम्म रंगशालामा भीआईपी ब्लक (प्यारापिट), ब्लक ‘सी’ र ‘डी’ का प्यारापिट, बाउन्ड्री वाल तथा एउटा शौचालय निर्माण सम्पन्न भएको निर्माण कम्पनी शुभ आशिर्वाद कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक अमृत खत्रीले जानकारी दिनुभयो।

निर्माण व्यवसायीले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गरेको र रंगशाला सञ्चालनका लागि अन्तिम चरणका काम भइरहेको कोहलपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर बालकृष्ण महतराले बताउनुभयो।

रंगशाला सञ्चालनमा आएपछि कोहलपुरमा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका फुटबल प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले खेलकुद गतिविधिको विकाससँगै स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन र खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कोहलपुर नगरपालिकाले गौरवको आयोजनाका रूपमा अघि बढाएको रंगशालाले यस क्षेत्रको खेलकुद पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि थप्ने अपेक्षा गरिएको छ।

Nabintech