बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा जुम्ल्याहा बच्चा जन्माएकी १९ वर्षीया सुत्केरीको मृत्यु भएपछि अस्पतालमा दुई दिनदेखि तनाव उत्पन्न भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–७ की पवित्रा केसीको उपचारका क्रममा शनिवार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका छन् ।
आन्दोलनका क्रममा मृतकका आफन्तले सुर्खेतरोड अवरुद्ध पारेपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यता अस्पताल प्रशासनले भने पवित्रालाई भर्ना गर्दा नै गम्भीर सङ्क्रमण र स्वास्थ्य जटिलता रहेको दाबी गरेको छ । उहाँको ज्यान बचाउन चिकित्सकले सम्भव भएसम्मका सबै उपचार विधि अपनाएको अस्पतालको भनाइ छ । उपचारमा लापरबाही भएरनभएको विषयमा मृतकका आफन्त र अस्पताल प्रशासनबिच विवाद हुँदा सहमति जुट्न सकेको छैन ।
पवित्रा सात महिनाकी गर्भवती हुनुहुन्थ्यो । पेट दुख्ने समस्या देखिएपछि आफन्तले उहाँलाई कात्तिक २६ गते बिहान अस्पताल पुर्याएका थिए । सुरूमा प्रसूति वार्डमा राखेर परीक्षण गर्दा गर्भमा रहेका शिशुको मुटुको धड्कन सामान्य रहेको चिकित्सकले बताएका थिए । त्यतिबेला प्रसव व्यथा पनि सुरु भएको थिएन ।
तर, स्वास्थ्य परीक्षणका क्रममा उहाँलाई जन्डिस, ज्वरो र ‘सेप्सिस’ अर्थात् गम्भीर सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । त्यसपछि उनलाई प्रसूति वार्डबाट आकस्मिक कक्षहुँदै मेडिसिन वार्डमा सारेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। अल्तावान राहीका अनुसार पवित्रालाई अस्पताल ल्याउँदासम्म शरीरमा सङ्क्रमण फैलिइसकेको थियो । उहाँको जन्डिसको मात्रा प्रतिडेसिलिटर ७ मिलिग्राम पुगेको थियो, जबकी, सामान्य अवस्थामा यो १।२ मिलिग्रामभन्दा कम हुनुपर्छ । रगतमा सेतो रक्तकोषको मात्रा पनि उच्च देखिएको र कलेजोमा समेत सङ्क्रमण फैलिएको चिकित्सकको भनाइ छ ।
मेडिसिन वार्डमा डा। राहीको नेतृत्वमा उपचार भइरहँदा प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा। युवराज कार्कीले उहाँको स्वास्थ्य अवस्थाको नियमित निगरानी गरिरहुनु भएको थियो । अस्पतालका अनुसार संक्रमणका कारण पवित्राको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको थियो ।
गर्भमा रहेका शिशुले दिसा गरिसकेको र कात्तिक २७ गते पानीको थैलीसमेत फुटेपछि आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेको अस्पतालले जनाएको छ । त्यसपछि चिकित्सकको टोलीले शल्यक्रिया गरेर बच्चा निकाल्ने निर्णय गरेको थियो ।
कात्तिक २७ गते साँझ गरिएको शल्यक्रियाबाट पवित्राले जुम्ल्याहा सन्तान ९एक छोरा र एक छोरी० जन्माउनुभयो । छोराको तौल १।९ केजी र छोरीको तौल १।७ केजी थियो । शल्यक्रियाका क्रममा करिब एक हजार २०० मिलिलिटर रगत बगेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पवित्रालाई पोस्ट–अपरेटिभ वार्डमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था थप बिग्रिएपछि उहाँलाई आइसीयूमा सारियो ।
रक्तस्राव नरोकिएपछि ज्यान बचाउने प्रयासस्वरूप चिकित्सकले पाठेघर नै निकाल्नुपरेको अस्पतालले जनाएको छ । प्रसूति तथा स्त्रीरोग विभाग प्रमुख डा। कार्कीका अनुसार रक्तस्राव नियन्त्रणका लागि ‘हिस्टेरेक्टोमी’ अर्थात् पाठेघर निकाल्ने शल्यक्रिया गरिएको थियो ।
अस्पतालका चिकित्सकका अनुसार विभिन्न पाँच प्रकारका औषधि प्रयोग गर्दा पनि उहाँको रक्तचाप सामान्य अवस्थामा ल्याउन सकिएको थिएन । रक्तचाप कायम राख्न कठिनाइ हुनुका साथै शरीरका महत्त्वपूर्ण अङ्गहरूको काम गर्ने क्षमतासमेत कमजोर हुँदै गएको थियो ।
अस्पतालले पवित्राको मृत्यु अत्यधिक रक्तस्रावका कारण मात्रै नभई सङ्क्रमण र गर्भावस्थासँग सम्बन्धित जटिलताका कारण भएको दाबी गरेको छ । उपचारका क्रममा शरीरका विभिन्न महत्वपूर्ण अङ्गले काम गर्न छाड्ने अवस्था अर्थात् ‘मल्टिपल अग्र्यान डिसफङ्सन सिन्ड्रोम’ ९एमओडीएस० विकसित भएको र यही अवस्थालाई मृत्युको चिकित्सकीय कारण मानिएको अस्पतालको भनाइ छ ।
उपचारमा लापरबाही भएको दाबी गर्दै मृतकका आफन्तले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेर आन्दोलन गरेका छन् । अस्पताल प्रशासन र प्रहरीसँग भएको छलफलमा माग पूरा नभएसम्म शव नबुझ्ने अडानसमेत उनीहरूले राखेका छन् ।
मृतककी हजुरआमा विष्णुमाया आचार्यले आमाको मृत्यु भएपछि दुई नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने माग गर्नुभयो । परिवारले उपचारमा संलग्न चिकित्सकको भूमिकाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग पनि पिडित पक्षले राखेको छ ।
यस विषयमा आइतबार भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन । अस्पताल प्रशासन, पीडित परिवार र प्रहरीबिच सहमति जुटाउन सोमबार पनि छलफल भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रोमन किदवाईले तीनै पक्षबीच सहमतिका लागि बैठक भएको बताउनुभयो ।
दुई नवजात शिशु आमाविहीन बनेपछि परिवारले उनीहरूको भविष्यको चिन्ता व्यक्त गर्दै अहिले पनि अस्पताल गेटमा धर्ना दिइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले अहिलेसम्म पीडित पक्षबाट कुनै जाहेरी नआए पनि विरोध प्रदर्शन भइरहेको बताउनुभयो । सहमतिका लागि धेरै पटकको बसाइ भएपनि पीडित पक्ष सहमत नभएको उहाँले बताउनुभयो । उहाँले मृतकको शव अस्पतालमै रहेको जनाउँदै अस्पतालको सेवा नरोक्न प्रहरी परिचालन गरिएको बताउनुभयो ।





















