९ माघ २०८१, बुधबार
बुटवलमा डेंगीका बिरामी बढ्दै

  • टाइम्स संवाददाता

  • २० श्रावण २०७९, शुक्रबार १४:५९

बुटवल: साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन् । असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५–१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताए । अस्पतालका अनुसार विगतका वर्षमा साउन र भदौमा डेंगीका बिरामी आउने गरेकोमा यसवर्ष भने असारदेखि नै बिरामी आउने गरेकोले भदौसम्म बिरामीको संख्या धेरै थपिन सक्ने खतरा देखिएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा ढकालले दुई वर्ष पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले विभिन्न सचेतनाका कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यसवर्ष त्यो अभियान शून्य हुँदा बिरामी बढेको हुन सक्ने बताए ।

‘एकातिर बजारभित्र भत्किएका सडकका खाडलमा पानी जमेर त्यसैमा लामखुट्टेले बासस्थान बनाएका छन्, अर्कोतर्फ विगतमा हुने सचेतनाका कार्यक्रम र लामखुट्टेको खोजी र नष्ट गर अभियान भएका छैनन्, अहिलेकै अवस्थामा बिरामीहरूको संख्या थपिँदै जाने हो भने भदौसम्म डेंगीका बिरामीहरूले अस्पताल भरिने छन्,’ डा ढकालले भने ।

डा ढकालले डेंगी लाग्नबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएकोले लामखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्नुपर्ने बताए ।

Nabintech