१८ बैशाख २०८१, मंगलवार
ओलीको अभिभावकत्व : मुगुका दुई बालिकाले चार वर्षपछि काठमाडौंमै पढ्न पाए

‘हामी धेरै खुसी छौँ, उनीहरूको भविष्य उज्ज्वल बनोस्’


  • श्याम राई

  • ९ भाद्र २०७९, बिहीबार ०८:२८

काठमाडौं – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेका दुई विद्यार्थी हुन्, ठिल्ले साङमु लामा र छेरिङ छोन्तोम लामा।  ओलीले २०७५ वैशाख १ गते ‘कर्णाली रारा पर्यटन वर्ष’मा मुगुम–कार्मारोङ गाउँपालिका–८ स्थित बुद्ध नमुना माध्यमिक विद्यालयमा भर्ना गरेर मुगुकी ठिल्लेको अभिभावकत्व ग्रहण गरेका थिए।

छेरिङलाई ओलीकी धर्मपत्नी राधिका शाक्यले सोही विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेकी थिइन्। बुद्ध नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लग्नसिंह सेजुवालका अनुसार भर्ना गराएपछि ओलीले २०७५ भदौमा ठिल्ले र छेरिङका लागि १० हजारका दरले दुई जनालाई २० हजार रूपैयाँ उपलब्ध गराएका थिए।

त्यसयता ओलीले दुवै जनाको चासो लिएका थिएनन्। तर भर्ना गरेको चार वर्षपछि ओलीले दुवै जनालाई पुनः सहारा दिएका छन्। ओलीले केही दिनअघि दुवै जनालाई गाउँबाट बालकोटमा बोलाए।  त्यसपछि उनले दुवैलाई कीर्तिपुरस्थित ल्याबरोटरी बोर्डिङ स्कुलमा भर्ना गराएका छन्। एमाले अध्यक्ष ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार यतिखेर उनीहरू त्यही स्कुलको होस्टलमा छन्।

‘अध्यक्षज्यू आफैँले भदौ १ गते उनीहरूलाई बोलाउनु भएको थियो। यहाँ आएर भेटघाट गरी लत्ताकपडा किनिदिनु भयो। स्कुलमा भर्ना गरेर अहिले होस्टलमा बसेका छन्‘,उनले भने। उनले अन्य जिल्लाका २९ विद्यार्थीलाई पनि उपत्यकामै भर्ना गरी ओलीले पढाउँदै आएको जानकारी दिए।

हामी धेरै खुसी छौँ,उनीहरुको भविष्य उज्जवल बनोस्’

काठमाडौंको बोर्डिङ स्कुलमा पढ्न पाउने भएपछि उनीहरूका आमा,आफन्त र विद्यालय यतिखेर खुसीले गदगद छन्। ‘त्यति आर्थिक सहयोग गरेपछि हालसम्म केही सहयोग प्राप्त भएको रेकर्ड थिएन। एउटा निजी संस्थाले कहिलेकाहीँ सहयोग गरेको थियो’,बुद्ध नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सेजुवाल भन्छन्,​‘ओलीज्यूले खासै चासो नलिएपछि अभिभावक निकै चिन्तित थिए। अहिले पुनस् खुसी छाएको छ।’

उनका अनुसार दुवैजनाको बुबाको निधन भइसकेको छ। ‘आर्थिक अवस्था दयनीय भएकै कारण हामीले सकेसम्म निःशुल्क पाठ्यपुस्तक, कपी उपलब्ध गराएको थियौँ,’उनले भने,‘अब भने दुवै काठमाडौंमा पढ्न पाउने भए। म धेरै खुसी छु।’  प्रधानाध्यापक सेजुवालका अनुसार केही समयअघि आमासहित दुवै जना ‘डकुमेन्ट’ लिन विद्यालय आएका थिए। ‘त्यसवेला उनका आमा,आफन्त परिवार धेरै उत्साहित हुनुन्थ्यो। विद्यार्थी पनि खुसी भएका थिए। सबैले खुसी साटासाट गरौँ’,उनले भने।

छिरिङ कक्षा–६ र ठिल्ले कक्षा–५ मा अध्ययनरत थिए। ल्याबरोटरी स्कुलले भदौ ६ गते छेरिङ कक्षा- ३ र ठिल्ले कक्षा- २ मा भर्ना भएको जानकारी दिएको छ।

ठिल्ले साङमु लामाकी आमा छिचु लामाले ओलीले शिक्षा र पालनपोषण गर्ने जिम्मा लिएपछि खुसी व्यक्त गरेकी छिन्। उनले भनिन्, ‘जन्माउने आमा हामी भए पनि भविष्य बनाउने आमाबुबा छोरीले पाउँदा खुसी लागेको छ। छोरीलाई प्रधानमन्त्री भइसकेको मान्छेको जिम्मामा छोड्न पाउँदा खुसी छु।’​

Source : Thahakhabar.com

Nabintech