९ मंसिर २०८१, आईतवार
जंगली जनावरले सल्यानमा बालीनाली सखाप पारेपछि किसान सकसमा

  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार १६:३४

सल्यान : सल्यानमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसान मर्कामा परेका छन्। जंगली जनावर बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन्।

जिल्लाका अधिकांश किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन्। बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा पुग्नु पर्ने बाध्यता रहेको र बिहानै बारीमा नपुगे पाक्ने बेलाको बाली नरहने कुमाख गाउँपालिका-३ रातपहराका शिवबहादुर केसीले बताए।

उनले भने‚ ‘गाउँका सबै मिलेर राति पनि बारीमा बस्छौं। समूहमा आउने बँदेललाई एकातिरबाट धपायो अर्कोतिरबाट आइहाल्छन्।’

दिउँसो बाँदरले र राति बँदेल र दुम्सीको हुलले मकैबारी पसेर मकै सोत्तर पार्ने गरेको अर्का किसान ओपेन्द्र गोसाईको भनाई छ। मकैलगायत अन्नबाली जोगाउन राति राति समूहमा ढ्याङ्गग्रो बजाउँदै बारीमा मकै कुर्नु परेको छ।

दिउँसो सुगा र बाँदरको आतंक उत्तिकै छ। दिन र रात दुवै समयमा जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि रातको निन्द्रा र दिनको भोक हराएको चित्रनाथ योगीको भनाई छ।

पाक्ने तयारीमा रहेको मकैलाई जंगली जनावरले नष्ट गर्न थालेपछि समस्या भएको योगीले बताए। उनले भने‚ ‘जंगली जनावर धपाउन जाग्राम बस्नु परेको छ, रातको निद्रा र दिनको भोक सबै लगीसके।’

जंगली जनावर धपाउन पहल गरी दिन किसानले स्थानीय सरकारलाई आग्रह गरेका छन्। वर्षौंदेखि जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि खाद्यान्नमा समेत समस्या आउन थालेको उनीहरुको भनाई छ। दिनरात बालीनालीलाई पहरा दिँदा पनि बचाउन नसकिएको किसानहरुको गुनासो रहेको छ।

Nabintech