परिवर्तन अत्यन्त कठिन काम हो, तर परिवर्तनका उपलब्धिहरूको रक्षा र विकास गर्नु त्योभन्दा कठिन काम हो । नेपालमा भएको राजनीतिक परिवर्तन र त्यसको रक्षा गर्दै तिनीहरूको कार्यान्वयनका माध्यमबाट जनतालाई सन्तुष्टि प्रदान गर्नु चुनौतीपूर्ण काम हो । अहिले नेपाली राजनीति यही कठिन चुनौतीको अवस्थामा छ । धेरै राजनीतिक विचार तथा दलहरू भएको अवस्थामा यो चुनौती वहन गर्न व्यापक राजनीतिक समझदारी, सुझबुझ र सहकार्य आवश्यक छ । यस्तो असल कामका लागि राजनीतिक नेतृत्व र समर्थकहरूको पङ्क्ति हुनुपर्दछ । तर, आजको राजनीति त्यसतर्फ उन्मुख छ ? त्यस्तो देखिँदैन ।
यस्तो चुनौती र दायित्व महसुस गरिएकै समयमा सिद्धान्त, व्यवहार, दृष्टिकोण मिल्दै नमिल्नेका बीचमा अप्राकृतिक गठबन्धन गरी आफ्नो दृष्टिकोण, सिद्धान्त, विचारमा दृढ रहँदै अघि बढिरहेको पार्टीका विरुद्ध अनेकौँ षड्यन्त्रका तानाबाना बुन्ने काम भइरहेको छ । हुँदा हुँदा गठबन्धन र सरकारको समेत नेतृत्व गरिरहेको नेपाली काँग्रेस पार्टीको विद्यार्थी सङ्गठनले संवैधानिक मर्यादामा रहने र रहिरहेको राष्ट्रपतिको पुतला डढाउने काम गरेको छ । नागरिकता विधेयकका विषयलाई लिएर गणतन्त्रका उच्च संस्थामाथिको यस्तो असहिष्णु, अराजक, अलोकतान्त्रिक कार्य घृणास्पद र निन्दनीय छ ।
नागरिकता विधेयक सडकको विषय होइन । यो सन्की हुल्लडबाजहरूको जमातको नारा जुलुसबाट टुङ्गिने विषय पनि होइन । राष्ट्रको स्वाधीनताको यस्तो संवेदनशील विषयमा हो हल्ला र अराजकता मच्चाउने शक्तिहरू नेपालको राष्ट्रिय हित नचाहने शक्ति हुन् । सत्ताधारी गठबन्धनको माउ ठानिएको राजनीतिक दलका अराजक लाठे—मुङ्ग्रेहरूको यो तमासा मुलुकको राजनीतिका लागि घातक छ । राजनीतिक, वैचारिक र विधि सङ्गत लोकतान्त्रिक प्रक्रियाबाट टुङ्गो लगाइने विषयमा सहरमा धुवाँ उडाउने विषय किमार्थ क्षम्य हुन सक्दैन ।
राष्ट्रपति, सरकार र सदनका आ–आफ्ना दायित्व, मर्यादा र सीमा छन् । ती सबै देशको संविधान, कानुनमा व्यवस्था गरिएबमोजिम हुने हो । समय र विमति सुन्न नचाहने, दलगत हित—लाभका लागि उर्लने र कुर्लने तत्त्वहरू वास्तविक राजनीतिक रूपमा पराजित मानसिकताका वाहक हुन् । निर्वाचनको प्रक्रिया अघि बढिसकेको अवस्थामा यसरी सडकमा द्वन्द्व चर्काउने गतिविधि निर्वाचनलाई प्रभावित गर्ने कुत्सित मनसायको अभिव्यक्ति पनि हुन सक्दछ । घोषणापत्र जारी गर्न नसक्ने, समयमै उम्मेदवारको टुङ्गो लगाउन नसक्ने, भागबण्डामा मुलुकलाई बन्धक बनाउने, दलीय व्यवस्था अनुरूप एक्लै प्रतिस्पर्धामा आउन नसक्नेहरू राष्ट्रपतिको पुतला डढाएर नेपाली जनतालाई वर्तमान राजनीतिक व्यवस्थाप्रति विरक्त पार्ने र मनपरी गर्ने दाउमा त छैनन् ? यस्तो प्रश्न उब्जनु स्वाभाविक हो ।
तर्क, विचार, नीति, सिद्धान्त, संविधान, ऐन कानुन, बौद्धिक बहसको बाटो छोडेर पुतला पोल्दै हिँड्ने अराजकतामा तुरुन्त रोक लगाऊ सरकार !
नागरिकता विधेयकको प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपति संस्थामाथि धावा बोल्नुले नेपालको हित हुन्छ ? लोकतन्त्रको हित गर्छ ? गणतन्त्रलाई बलियो पार्छ ? यसका पक्ष वा विपक्षमा अरूका पनि मत होलान् । के अब नागरिकता विधेयकको पक्ष र विपक्षमा पुतला पोल्ने प्रतिस्पर्धा गर्ने हो ?
तर, कुनै एउटा उरन्ठेउलो जत्थाले जे गर्छ, अरूले त्यो गर्न सुहाउँदैन । यस्ता कुकृत्यको जबाफ धैर्य र संयमसाथ दिनुपर्दछ । राजनीति उरन्ठेउल्याइँ होइन, जिम्मेवार भूमिका हो । सत्ता पक्षीय अधैर्य, अराजक जत्थाको यस प्रकारको वितण्डाबाट उत्पन्न हुने—हुन सक्ने प्रतिघटनाको जबाफदेही सरकारले लिनुपर्ने छ ।