१८ बैशाख २०८१, मंगलवार
गुल्मीको रुरुक्षेत्रमा भुस्याहा कुकुरको बन्ध्याकरण अभियान

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७९, सोमबार १२:००

गुल्मी : भुस्याहा (सामुदायिक) कुकुरका कारण समस्या बढेपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा बन्ध्याकरण अभियान सुरु गरिएको छ। रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।

विशेषगरी रातिको समयमा ​झम्टिने कारण यात्रा गर्न पनि असहज हुने र दुर्घटना समेत निम्त्याउने भएकाले  कुुकुरको स्थायी बन्ध्याकरण थालेको ज्ञवालीले बताए।

समूहमा अत्यधिक धेरै हुने, कृषकका घर–घर गएर साना पशुचौपाया आक्रमण गर्ने र मान्छेलाई पनि टोक्ने अवस्था आएपछि नियन्त्रण अभियान थालेको उनको दाबी छ।

रातीको समयमा टोलटोलमा कुुकुर जम्मा भएर सुत्न पनि नदिने ,बालबालिकाको पनि जोखिम भएको र सवारी दुर्घटना समेत पर्न सक्ने भएकाले गाउँपालिकाको दुई लाख बजेटबाट बन्ध्याकरण गर्ने अभियान थालिएको उनको भनाइ छ।

अहिले कम्तीमा ५० वटा कुकुरको बन्ध्याकारण गर्ने कार्यालयले जनाएको छ। भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. भरत काफ्लेको नेतृत्वमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तथा पशु सेवा शाखाका प्राविधिकले कुकुरको बन्ध्याकरण गरेका हुन्।

कुकुरको समस्या बढी भएका स्थानलाई लक्षित गरी बन्ध्याकरण गर्ने अभियानमा प्राविधिक सहयोग गर्न तयार रहेको काफ्लेले बताए। जनशक्ति ,स्रोत र साधन पनि कम भएकाले क्षमता अनुसार काम गर्ने कार्यालयले जनाएको छ।

Nabintech