७ आश्विन २०८१, सोमबार
बाँकेमा छोटी भन्सार सञ्चालन नहुँदा तस्करी बढ्यो

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७९, मंगलवार १५:०२

नेपालगञ्ज : बाँकेमा रहेका नेपाल–भारत सीमाका छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढ्दै गएको छ । मूल भन्सार मानिने नेपालगञ्ज भन्सारअन्तर्गत रहेका सात वटा छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढेको हो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साईगाउँ र साईगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए ।

यी छोटी भन्सार वर्षौदेखि बन्द छन् । छोटी भन्सारका आफ्नै संरचना छन् । छोटी भन्सार लामो समयदेखि सञ्चालनमा नआउँदा स्थानीयका गाईगोठ भएका छन् भने केही छोटी भन्सारका संरचना जीर्ण बनेर भत्किने अवस्थामा पुगेका छन् ।

कतिपयले छोटी भन्सारको संरचनामा गाई, बाख्रा, भैंसी पनि बाँध्ने गरेका छन् । तर मुख्य भन्सार कार्यालयले हालसम्म छोटी भन्सारको संरचना संरक्षणमा ध्यान दिएको छैन । अधिकांश छोटी भन्सारका भौतिक संरचना काम नलाग्ने गरी जीर्ण अवस्थामा छन् ।

सशस्त्र द्वन्द्वका बेला बन्द गरिएको छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ भने छोटी भन्सार कार्यालय नहुँदा दैनिक उपभोग्य सामान ल्याउने नागरिकले समेत दुःख पाएका छन् ।

छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा नल्याइएका कारण ती नाकाहरू तस्करीको केन्द्र बन्दै गएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

Nabintech