७ आश्विन २०८१, सोमबार
फैलिँदै डेङ्गी : पालिकालाई थप जिम्मेवार बन्न आग्रह

  • टाइम्स संवाददाता

  • १४ आश्विन २०७९, शुक्रबार ०८:४४

काठमाण्डाै: डेङ्गी सङ्क्रमित र ज्यान गुमाउने थपिँदै जाँदा लामखुट्टे रोकथाम तथा नियन्त्रणमा तीन तहका सरकार र मातहतका निकायले प्रभावकारी काम गर्न सकेका छैनन् । त्यसमाथि दशैँ/तिहार जस्ता मुख्य चाडपर्वले मानिसको आवतजावत र चहलपहल बढाएको छ । यो बेलामा डेङ्गी थप बढ्न सक्ने जोखिम रहेकाले पालिका तहका सरकारलाई जिम्मेवार बन्न इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।

कोरोनाकालमा पालिकाले खेलेको भूमिका उल्लेखनीय रहेको तर अहिले डेङ्गीका बेलामा अपेक्षाअनुसार काम हुन नसकेको महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँले आवश्यक स्रोत र साधन अपुग भएमा उपलब्ध गराउन महाशाखा तथा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको समेत बताउनुभयो । डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरको सुझाव छ । डेङ्गी फैलिएपछि साउन महिनादेखि नै देशभर लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको थियो । तर पालिका तहमा अभियानले निरन्तरता पाउन नसक्दा सङ्क्रमण बढेको छ । कात्तिक मसान्तसम्म नै जोखिम रहने भएकाले यो अभियान निरन्तर चलाउनुपर्ने र पालिका तहमा पनि त्यसैअनुसारका काम गर्न भनिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले लामखुट्टेको टोकाइबाट बच्न विज्ञले आग्रह गर्दै आएका छन् । विज्ञका अनुसार डेङ्गी नियन्त्रण गर्नका लागि लामखुट्टे खोज्ने र नस्ट गर्ने अभियान हरेक हप्ता दुई पटक गर्न आवश्यक छ । तर, पालिकाले यो अभियानलाई प्राथमिकतामा राख्न नसक्दा जोखिम थप बढेको छ । जाडो महिना लागेपछि डेङ्गी आफैँ हराएर जान्छ भन्ने बुझाइका कारण अहिले सङ्क्रमण उच्च तहमा पुगेको विज्ञको बुझाइ छ ।

पछिल्लो विवरण अनुसार डेङ्गीको सङ्क्रमणका कारण ३८ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितको सङ्ख्या २८ हजार नाघेको छ । प्रदेशगतरुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९ सय ७५ जनामा डेङ्गी देखिएको छ ।

त्यस्तै प्रदेश एकमा ८ सय २९, मधेस प्रदेशमा ४ सय १३, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १ सय २५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ८ सय ५० जनामा सङ्क्रमण भएको छ ।

Nabintech