९ मंसिर २०८१, आईतवार
नवौँ राष्ट्रिय खेलकुद: ९६ स्वर्णसहित शीर्ष स्थानमा आर्मी

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०७९, बुधबार १७:५३

पर्वत : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ।

राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ। दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबको अग्रता कायमै छ। हालसम्म पुलिसले ३८ स्वर्ण, ३६ रजत र ४२ कांस्य गरेर ११६ पदक जितेको छ।

पहिलो स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको पुलिसबीच पदकमा फराकिलो अन्तर रहे पनि दोस्रो स्थानमा रहेको पुलिसलाई भने तेस्रो स्थानमा रहेको अर्को विभागीय एपीएफ क्लबले पछ्याइरहेको छ। एपीएफले ३३ स्वर्ण, ३५ रजत र ६२ कांस्य गरी १३० पदक हात पारेको छ।

चौथो स्थानमा रहेको गण्डकी प्रदेशले १८ स्वर्ण, १६ रजत र ३२ कांस्य गरी कुल ६६ पदकमा कब्जा जमाएको छ। पाँचौँ स्थानमा बागमती प्रदेश रहेको छ। हालसम्म बागमतीले १६ स्वर्ण, २९ रजत र ३४ कांस्य गरी ७९ वटा पदक जितेको छ।

छैटौँ स्थानमा रहेको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोलीले ९ स्वर्ण, ७ रजत र ५ कांस्य गरी २१, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत र २१ कांस्य गरी ३३, प्रदेश नं. १ ले ५ स्वर्ण, १७ रजत र ३२ कांस्य गरी ५४ पदक आफ्नो पक्षमा पारेका छन्।

यस्तै नवौँ स्थानमा रहेको मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र १९ कांस्य गरी ३१, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २३ कांस्य गरी ३८ तथा ११ औँ नम्बरमा रहेको कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ७ कांस्य गरी १० पदक जितेको छ।

Nabintech