नेपालगञ्ज : चुनाव नजिकिँदै जाँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेशको लहर बढ्दै गएको छ । सोमबार बिहान नेपालगञ्ज वडा नं ९ का युवाहरू जसपा प्रवेश गरेका छन् ।
विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए । पार्टीमा स्वागत गर्दै उम्मेदवार राईले जसपामा बढिरहेको आकर्षणसँगै पार्टीलाई निर्वाचनमा जिताउन भूमिका खेल्न आग्रह गरेका थिए ।
‘चुनाव अब नजिकिइसकेको छ । अरूलाई गाली गलौज गर्नुभन्दा पनि पार्टी र उम्मेदवारहरूले गरेका विकासका कामहरूको प्रचार गर्नुहोस्’ मन्त्री राईले उनीहरूलाई भनेका छन् ‘अरूको विरोध होइन आफ्नो कामको प्रचार र अब पनि जनतासँगै रहनेछौं भन्ने विश्वास दिलाउनु पर्छ ।’
आइतबार पनि विभिन्न पार्टी परित्याग गरी करिब १ सय ५० जना भन्दा बढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनीहरूलाई उम्मेदवार राईले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।