भरतपुर: वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ ।  बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् ।  असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकहरूको भीड नै लाग्न थालेको छ ।

यसबर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दसैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो । उहाँले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

विसं २०७६मा एउटा बाट सुरु भएको मोटरबोट  अहिले साना ठुला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी  र मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ । एक पटकमा ठुला मोटर बोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटर बोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु २५० र  लामो दूरीमा प्रतिव्यक्ति रु ५०० तोकिएको छ । त्यहाँबाट उठेको रकमको  २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुई सय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले दैनिक चार सयदेखि पाँच सय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताउनुभयो । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ ।

नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटकहरू यहाँ जलबिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।