८ आश्विन २०८१, मंगलवार
खुर्सानीले राताम्य घरका छाना

  • टाइम्स संवाददाता

  • २० कार्तिक २०७९, आईतवार ११:१७

सुर्खेत : डोल्पा​को त्रिपुुरासुन्दरी नगरपालिका –४ रंगका अधिकांश घरका छाना यतिखेर राताम्य छन्। यहाँका बासिन्दाले खेतबारीमा उत्पादन गरिएको खुर्सानीले छत नै रातो भएको हो।  वैशाखमा लगाएको खुर्सानी असोज–कात्तिक महिनामा टिपेर सुकाउने गरिन्छ। अहिले यहाँ खुर्सार्नी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ। खेतबारीबाट खुर्सानी टिपेर छतमा ल्याई घाममा सुकाउने क्रममा छत राताम्य देखिएको छ।

भेरी करिडोर अन्तरर्गत जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने रंग गाउँ खुर्सानीले कात्तिक र मंसिरभर छत राता हुन्छन्। वैशाखमा लगाएको खुर्सानी कात्तिक–मंसिरमा टिपिन्छ। चिसो मौसम भएका कारण खुर्सानी सुक्न लामो समय लाग्ने गरेको किसान बताउँछन्।

स्थानीय भावना बुढाले आफूले यो वर्ष १८ क्विन्टल खुर्सानी फलाएको बताइन्। यस्तै सरस्वती बुढाले १२ क्विन्टल उत्पादन गरेकी छिन्।  अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएको यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको उनले जानकारी दिइन्।

यहाँ २१४ भन्दा बढी घरधुरी छन्। तत्कालीन सुँ गाविसको वडा नम्बर ७,८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ४ बनाएको छ।  वडा सदस्य हरिवान बुढाका अनुसार वडाभर खुर्सानी राम्रो उत्पादन हुन्छ। एक क्विन्टल बिक्री गर्दा ७ हजार २०० आउने उनले बताए। सबैभन्दा बढी खुर्सानी बिक्री गर्नेले २ लाख र कम्तीमा एक लाख रुपैयाँसम्मको खुर्सानी बिक्री गरेर आम्दानी गर्दै आएको उनले जानकारी दिए।

आधुनिक प्राविधि भन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरू त्यही अनुसारको योजना बनाएर खुर्सानी खेतीमा लागेको स्थानीय कालीबहादुर बुढाले बताए।

गाउँमा पुगेको सडक मार्फत बोकेर त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गरिन्छ। व्यवस्थित बजार भएमा आफूहरूले अझ ठूलो परिमाणमा खुर्सानी उत्पादन गर्ने चाहना रहेको स्थानीय बताउँछन्।

अग्लो डाँडामा रहेको रंग गाउँ सडक सञ्जालसँग जोडिएको छ। तर सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेअनुरूप उत्पादन गर्न नसकेको स्थानीयको गुनासो छ। नगरपालिका र अन्य निकायले व्यावसायिक रूपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था , सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने आशा गरेको भावनाले बताइन्।

मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित छ। त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै सहयोग नगरेको कृषि शाखाका जगतबहादुर रोकायले बताए। स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उनले बताए । खुर्सानीका लागि समय, समयमा प्राविधिक रूपमा सल्लाह दिदै आएको समेत जानकारी दिए।

 

Nabintech