त्यतिखेर अर्थात् २०७७ वैशाखपछि माझण्ड (माधव, झलनाथ र प्रचण्ड) हरूले केपी ओलीको ख्यातिमा आफ्नो प्रगति देख्न नसक्दा र प्रचण्डको पार्टी कब्जा गर्ने मनसुवालाई माधव नेपालको कुण्ठाले विधि देख्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अघि लगाएर अग्रगमन भन्दै हिँडेका थिए । यतिखेर तिनै माझण्डहरू २०७९ को आम निर्वाचनको परिणाम आएपछि कांग्रेसकै पछि लाग्ने कि नलाग्ने भनेर बिलखबन्दमा परेका छन् । आज तिनै माझण्डहरूका अग्रगमन अलपत्रमा पर्दा तिनका अग्रगमनका नाइके पार्टी नेपाली काँग्रेस पनि संसद्मा बहुमतमा पुर्याएर आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा छ । तर भ्यागुताको धार्नी कसरी पुग्छ र टिक्छ भनेर बालुवाटारमा दिनहुँ कचहरी चल्न थालेको छ ।
हामी नेपालीहरूको दुर्भाग्य नै भन्नुपर्छ, अब नेपालमा राजनीतिक सङ्क्रमण अन्त्य होला भनेको त हामी अर्को जटिल राजनीतिक सङ्क्रमणमा फस्दैछौ। जनादेश कुनै एउटा दललाई बहुमत पुग्ने गरी आउनुपर्थ्यो, आएन । तर एकातिर नयाँ दल, युवा र परिवर्तनको आवरणमा कार्यान्वयन गरियो । जसले गर्दा बाह्य चलखेल बढेको छ । हिजो प्रतिगमन भन्दै अग्रगमन खोज्न हिँडेका पात्रहरू आज सरकार गठनमा सबै विकल्प खुला राख्ने अनौपचारिक निर्णय गरेर आफ्नो महत्त्व र प्रभाव बढाउन खोज्दै छ । जबकि २०७९ को जनादेशले उनीहरूको महत्त्व र प्रभाव कमजोर पारेको अझै पत्तो पाएका छैनन् ।
२०७९ जनादेशले के सन्देश दिएको छ ? त्यो बुझेर कस्तो सरकार किन बनाउने भन्ने प्रश्नको उत्तर खोज्नु पर्नेछ । त्रिशङ्कु संसद् बनाउने अनि नियन्त्रित अस्थिरता बढाउने बाह्य शक्तिहरूको रणनीतिलाई असफल बनाउने गरी राजनीतिक समीकरण बनाउन सुझबुझ देखाउनुपर्ने भएको छ । तर संसद्को समीकरण हेर्दा देशभक्त तथा वामपन्थीहरूको नेतृत्वमा सरकार बन्ने अवस्था देखिँदैन । अब कम्फर्टेबल सरकार बनाउन को को सहयोगी हुन्छन् ? त्यो थाहा पाउन अरू केही दिन प्रतीक्षा गर्नु पर्नेछ ।
सञ्चार जगतले आफ्नो भूमिका चिनेन र पत्रकारले आफू राज्यको चौथो अङ्ग भएको बुझेनन् । परिणाम स्वरूप जनता भ्रम, प्रभाव र प्रलोभनमा परेर मताधिकार प्रयोग गर्ने अवस्थामा पुग्यो । अहिले आएको जनादेश खराब शिक्षा, गलत सूचना र कमजोर सामाजिक चेतनाको उपज हो ।
जसरी भ्रम, डर त्रास र अराजकताबाट प्राप्त २०६४ को जनादेश टिकाऊ र उपलब्धिमूलक भएन त्यसरी नै भ्रम, वितृष्णा, नकारात्मक चेत र अराजकताबाट प्राप्त २०७९ जनादेश स्थिर नहुने लक्षण देखिन थालेको छ । हिजो वैचारिक जग नभएका मधेसवादीले झैँ आज नयाँ भन्नेहरू पनि त्यसरी नै सत्ताको बार्गेनिङ गर्दैछन् । पुरानाले भएन भनेर नयाँ पार्टी र उम्मेदवारहरू रोज्दा एकातिर त्रिशङ्कु संसद् बन्यो भने अर्कातिर बाह्य चलखेल पनि बढ्दै छ । यसले नियन्त्रित अस्थिरता बढेर जनअपेक्षाहरू सम्बोधन नहुने र देशलाई समस्या पार्ने सङ्केत देखिँदै छ । सरकार बनाउनका लागि साना दल र स्वतन्त्रहरूको मोलमोलाइ एकाएक ह्वात्तै बढेको छ । त्यसैले २०७९ जनादेशले के सन्देश दिएको छ ? त्यो बुझौँ अनि कस्तो सरकार किन बनाउने भन्ने प्रश्नको उत्तर खोजौँ ! त्रिशङ्कु संसद् बनाएर नियन्त्रित अस्थिरता बढाउन चाहने बाह्य शक्तिहरूको रणनीतिमा रमाउन छोडौँ । तर पनि कम्फर्टेबल सरकार बनाउने अभियानमा को को जोडिएलान ? नयाँ र युवा भन्ने सांसदहरू कता उभिएलान्? हेरौँ !
पत्याउनुस् या नपत्याउनुस्, तपाईँको कुरा, सत्य के हो भने दलाल पुजिँवाद र बाह्य शक्तिको ’विभाजन र शासन’ को रणनीतिलाई सफल बनाउन माझण्डहरूले हिजो नेतृत्व गरे भने शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्न सघायो । अनि सञ्चार माध्यमहरूले त्यसको बचाउ गरेर प्रचार प्रसार गरिदियो र नेकपा एमालेका विरुद्ध समाचार र टिप्पणी लेखिरहे र संवादहरू प्रसारण पनि गरिरहे । जसले जनमन भ्रमित बनायो । यदि त्यतिखेरदेखि लिएर यति खेरसम्म सञ्चार माध्यमहरूले निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरेको भए आज यो खालको जनादेश आउने थिएन । “एक डरा हुआ ’पत्रकार’ एक मरा हुआ ’नागरिक’ पैदा करता है।” भन्ने रवीश कुमारले भनाइ झैँ नेपालका पत्रकारहरू पनि स्वतन्त्र र निष्पक्ष हुन डराएर पत्रकारिता गरेर राज्यको चौथो अङ्ग हौँ भन्दै छन् ।
सञ्चार जगतले आफ्नो भूमिका चिनेन र पत्रकारले आफू राज्यको चौथो अङ्ग भएको बुझेन । परिणाम स्वरूप जनता भ्रम, प्रभाव र प्रलोभनमा परेर मताधिकार प्रयोग गर्ने अवस्थामा पुग्यो । अहिले आएको जनादेश खराब शिक्षा, गलत सूचना र कमजोर सामाजिक चेतनाको उपज हो । किनभने हामीले राजनीतिलाई ठिक ढङ्गले बुझेनौँ र चिनेनौँ । बिनु पोखरेलले राजनीतिको बारेमा लेख्छिन् “एकमा एक जोड्दा दुई हुन्छ भने त्यो गणित हो । एकमा एक जोड्दा एघार हुन्छ भने त्यो सङ्गठन हो । त्यसैगरी एक र एक जोडिन दिइन्न भने त्यो कूटनीति हो र एकलाई एक विरुद्ध लडाइन्छ भने त्यो राजनीति हो ।” अहिले त्यही कूटनीति र राजनीतिको प्रभावको परिणाम भोग्ने अवस्थामा हामी पुगेका छौँ ।
हामीले खोजेको राजनीति विधिसम्मत सुशासन र प्रगति हो, अराजकता र दबंग शैलीको राजनीति होइन । अर्थात् लाठी चार्ज विधिको शासनले न सुशासन दिनेवाला छ न त प्रगतिको बलियो आधार नै बनाउने छ । तर हामी अहिले भ्रमित भएर, प्रभाव र प्रलोभनमा परेर धारणा बनाउने र निष्कर्षमा पुग्ने अनि हाम्रो गलत अभ्यासका कारणले बिचार हीन अराजनीतिक अराजक पात्र र प्रवृत्तिहरूले मौलाउने मौका पाएका छन् । त्यसको प्रमाण ती पात्रहरूको भाषा, चालचलन र व्यवहारहरूले प्रमाणित गर्दैछ । अहिले त कतिसम्म भने आफ्नो भूमिका र जिम्मेवारीको दायरा नबुझ्ने पात्रहरू यतिखेर संसद्मा निर्वाचित भएपछि दबंग शैलीमा राज्य अर्थात् सरकार, सदन, न्यायपालिका र सञ्चार नै मै हुँ भनेर हिड्दैछन् । हुन त हिजो पनि त्यस्तै प्रवृत्ति नदेखाएको होइन । त्यसमाथि फेरि उ आफै नागरिक हो कि होइन, थाहा छैन । हामीले बुझ्नुपर्छ, अराजकता सुशासनको बाटो होइन ।
जबसम्म सत्य पछाडि परिरहन्छ, तबसम्म असत्य र भ्रम अगाडि देखिन्छ अनि राजनीतिमा दर्शन, नीति र कार्यक्रमबीच तादाम्यता मिल्दैन फेरि बलियो नेतृत्व स्थापित पनि हुँदैन । भ्रमको भिडले देशको राजनीतिलाई अस्थिर बनाई रहन्छ र समस्यामा पारिरहन्छ । त्यसैले ठिक दर्शन, नीति र कार्यक्रम अनि बलियो नेतृत्व चिन्ने र रोज्ने क्षमता विकास गर्ने शिक्षा र सामाजिक प्रणालीको अनिवार्यता महसुस गर्नै पर्ने भएको छ । २०५२ साल फागुनपछि नेपालमा माओवादीको डर देखाइयो, त्यसले प्रजातन्त्र र राजतन्त्र दुवै खतम पार्यो अनि बाह्य हस्तक्षेप बढायो । माओवादीले देशलाई अहिलेसम्म पिर्दै छ । अब माओवादी प्रयोग गरेर हस्तक्षेपको खेती नचल्ने भएपछि स्वतन्त्र र नयाँ पार्टीको अर्को दर्शन, दिशा र गतिहीन राजनीतिमार्फत नेपाली मन भ्रमित बनाए र बनाउँदै छन् । अहिले त्रिशङ्कु संसद् पनि बनाइयो। अब यही संसद् प्रयोग गरेर देशका विरुद्ध गतिविधि गरिनेछ ।
२०५२ साल फागुनदेखि माओवादी अर्थात् प्रचण्डमार्फत जातीय, क्षेत्रीय तथा साम्प्रदायिक अनि भाषिक, धार्मिक विभाजन गर्ने र देशलाई कमजोर बनाउने प्रयास भएको थियो । त्यो प्रयासले अपेक्षित रूपमा पूरा काम गर्न नसकेपछि अहिले कम्फर्टेबल गठबन्धन, स्वतन्त्र र नयाँ पार्टीहरूमार्फत अर्को प्रयास गरिँदै छ ।
त्यतिखेर माओवादीका अराजक गतिविधिहरूको विरोध गर्दा ज्यानसम्म जान्थ्यो, हतियार नाङ्गो नाँच हुन्थ्यो । यतिखेर समय र शैली फेरिएको छ, तर प्रवृत्ति भने उस्तै छ । नयाँ पार्टी र स्वतन्त्रहरूका अराजकताको विरोध गर्दा हतियारको सट्टा सञ्चार र सामाजिक सञ्जालमार्फत तथानाम गाली गरिन्छ र धम्की दिइन्छ । अतिवाद जुनसुकै रूपमा भएता पनि त्यसले दिने दुःख नै हो भनेर हामीले बुझ्नुपर्छ ।
विभाजन, अस्थिरता, हिंसा र लुट पुजिँवादीहरूको चरित्र हो । पुजिँवादीहरूले नेपालमा लोकतन्त्रलाई उपयोग गरेर लुटतन्त्र मच्चाउन राजनीतिक रथ चलाउने प्रयास गर्दैछन् । अहिले त्यो रथको सारथि माझण्डहरू बनेका छन् । उनीहरूले विधि बनाएर देश लुट्न खोजेका छन् । जनताले पनि अराजकतालाई स्वाभाविक मानेका छन् । यो खालको चिन्तन र व्यवहारहरूले सुशासन र समावेशी खोज्दैन् भन्ने कुरा समय मै जनतालाई बुझाउन नसक्दा लोकतन्त्रलाई जनताको तन्त्र बनाउन सकिएन । जसका कारणले जनअपेक्षा पूरा हुने वातावरण नबन्दा २०६४ मा झैँ जनमनलाई भ्रमित बनाउन अस्थिरतावादीहरू सफल देखिए । माझण्डहरू एमालेलाई कमजोर बनाउने रणनीतिमा रमाउँदा आफै कमजोर हुन पुगेको संसद्मा उनीहरूको उपस्थितिले देखाएको छ ।
आजको समय भ्रम, झुट र अराजकताको मुखुण्डो उतार्ने, तिनको असलीयत चिनाउने र तिनलाई कमजोर बनाउने हो । यसका लागि हाम्रा आदर्श र व्यवहारहरूबीच तादाम्यता मिलाएर तिनीहरू खराब हुन भन्ने अभ्यासहरूबाट प्रमाणित गर्नुपर्नेछ । देशको गुणात्मक विकास र नागरिकको जीवनशैली समयानुकूल स्तरीय बनाउने अर्थ राजनीति चाहिएको छ । यो आवश्यकतालाई स्विकारेर देशको राजनीतिमा प्रगतिशील तथा देशभक्तहरूको प्रभाव बढाउनुपर्ने भएको छ । अन्यथा नेपाल झन् कमजोर र परनिर्भर बन्नेछ अनि समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प अलपत्रमा पर्नेछ । यो सत्य माझण्डहरूले बुझ्न सकेका छैनन्, त्यसैले त उनीहरू बिलखबन्दमा परेर देउवाको पछि–पछि कुदेका छन् ।