धनगढी: कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका-४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका-६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका-६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका-१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका-१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।