१० मंसिर २०८१, सोमबार
निजी कम्पनीले प्रतिलिटर १४ रुपैयाँले बढाए दूधको मूल्य

  • टाइम्स संवाददाता

  • १६ पुष २०७९, शनिबार ११:१५

नेपालगञ्ज: प्रशोधित दूधको मूल्य एकैपटक १४ रुपैयाँले बढेको छ । प्रतिलिटर ८६ रुपैयाँ कायम रहँदै आएको दूधको मूल्य १४ रुपैयाँले बढाएर प्रतिलिटर एक सय रुपैयाँ पुर्‍याइएको छ ।

डेरी एसोसिएसनले स्ट्यान्डर्ड दूध पाँच सय मिलिलिटरको ५० रुपैयाँ तोकेको हो । यसअघि पाँच सय मिलिलिटरको दूधको मूल्य ४३ रुपैयाँ रहेको थियो । निजी क्षेत्रले सम्बन्धित निकायसँग समन्वय नै नगरीकन दूधको मूल्य बढाएका हुन् । नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले यसअघि सरोकारवालासँग समन्वय गरेर मात्र दूधको मूल्य बढाउँदै आए पनि उद्योगहरूले एक कदम अघि बढेर दूधको मूल्य बढाएका हुन् ।

डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले दूध प्रशोधनमा प्रयोग हुने इन्धन, डेरी केमिकल र बैंक ब्याजलगायतका कारणले अहिलेको अवस्थामा मूल्य बढाउन बाध्य भएको बताए । उनले भने, ‘कृषकस्तरबाटै दाना–चोकर, दुधालु गाईबस्तुको मूल्यवृद्धिका कारणले बढाउन बाध्य भएका हौँ ।’

निजी क्षेत्रले एक वर्ष नपुग्दै दूधको मूल्य बढाएका हुन् । यसअघि गत वर्ष माघमा दूधको मूल्य पाँच सय मिलिटरको ४३ रुपैयाँ पुर्‍याएका थिए । मूल्य शनिबारबाट बढाउने भनिए पनि निजी क्षेत्रले अघिल्लो सातादेखि नै दूधको मूल्य बढेको भन्दै निजी डेरीहरूले बढी रकम लिन थालिसकेका छन् ।

Nabintech