रुपन्देही: लुम्बिनी प्रदेशमा खेलकुद शिक्षकलाई खेल प्रशिक्षण सुरु गरिएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा बिहीबारदेखि बुटवलमा तीन दिने खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले १२ औ राष्ट्रपति रनिङशिल्डमा उत्कृष्ट गरेको प्रदेशलाई अझ बलियो प्रदर्शन गर्न मद्दत मिल्ने बताए । देशभरमै खेल क्षेत्रमा विज्ञता हासिल गरेका खेल प्रशिक्षकहरूबाट तालिम चलाएर उत्कृष्ट नतिजा ल्याउने आशावादी गरिएको उनले बताए ।
कार्यक्रममा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कबड्डीका मुख्य प्रशिक्षक पार्वती राई, राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण दिने छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ६० विद्यालयका खेल शिक्षकहरू सहभागी छन् ।