सुर्खेत : माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको १ करोड रुपैयाँ ‘बालुवामा पानी’ सावित भएको छ ।भेरी नगरपालिका –१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्म १ करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ।
सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछा पालन काम अलपत्र परेको छ। जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएको डिप बोरिङ मेसिन समेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ।
त्यस्तै भुरा उत्पादनका लागि हेचिङ पलान्ट समेत अलपत्र अवस्थामा पुगेको छ। आर्थिक आर्थिक वर्ष २०७८/७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताए। अघिल्लो वर्षको रकम भुक्तानी हुने क्रममा रहेको उनले बताए। ढिलो फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । भुरा उत्पादन गर्ने भनिएको ठाउँमा रहेका पोखरीहरु अहिलेचिरा, चिरा परेका अवस्थामा रहेका छन् ।
पोखरी बचाउनका लागि राखिएका घेराबारहरु भत्किएका अवस्थामा रहेका छन् । पोखरी भित्र राखिएको पलाष्टिक च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्ति केन्द्रको पहुँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पर्दा प्रदेश सरकारको बजेट मात्र खेर गएको कर्मचारी समेत बताउँछन्।
माछा पालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयवासीको आरोप छ। अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो। पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाइ ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महताराले बताए ।
अहिले पुन: यही ठाउँमा १० लाख रकम आएको उनले जानकारी दिए। सहकारीका अध्यक्ष शेरबहादुर महतारालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।