११ मंसिर २०८१, मंगलवार
नरैनापुरमा करिब १० हजार बालबालिकालाई लगाइयो दादुरा विरुद्धको खोप

जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखा


  • टाइम्स संवाददाता

  • ८ माघ २०७९, आईतवार १९:०२

नरैनापुर,बाँके : बाँकेको नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्षमुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको छ । नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।

सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।नरैनापुर स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर विवेक पौडलेका अनुसार नरैनापुरका ७ वटा वडामा खोप अभियान सञ्चालन भइरहेको बताउँदै सोमबारसम्म लक्ष्य अनुसार खोप लगाइ सक्ने बताए ।

यता, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले खोप अभियान सञ्चालनमा कुनै कमी हुन नदिन नियमित रुपमा खोप केन्द्रको अनुगमन र स्थानीयलाई खोप लगाउन आग्रह गर्दै आएका छन् । योसँगै जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखापरेको छ ।

बाँकेमा अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा २१ जना र डुडुवा गाउँपालिकामा आठ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय, नेपालगन्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार पाँच वटा पालिकाको २६ वटा वडा प्रभावित छन् ।

 

Nabintech