११ मंसिर २०८१, मंगलवार
कोहलपुरमा भोलिदेखि दादुरा–रुवेला विरुद्धको खोप

नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा अहिले बाँकेका ५ वटा पालिका र कैलालीसम्म पुग्यो


  • टाइम्स संवाददाता

  • १० माघ २०७९, मंगलवार १८:४७

कोहलपुर,बाँके : कोहलपुर नगरपालिकामा भोलिदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाईने भएको छ । दादुरा प्रभावित वडाहरुबाट खोप लगाउन सुरु गर्न लागिएको कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिए ।

कोहलपुर नगरपालिकामा हालसम्म ६ जना बालबालिकामा दादुरा देखिएको छ । वडा नं.२, ११ र १४ का बालबालिकामा दादुरा देखिएकाले तिनै वडाहरुबाट खोप लगाउन सुरु गर्न लागिएको ठकुरीको भनाइ छ । कोहलपुर नगरपालिकाका १५ वटै वडाका २६ हजार १४२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

६ महिनादेखि माथि र १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउने योजनाअनुरुप आज स्वास्थ्य संस्थाका प्रमुख तथा जनप्रतिनिधिहरुसँग परामर्श कार्यक्रमको आयोजना गरिएको थियो । कोहलपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा दादुरा महामारीको हालको अवस्था, उपचार र रोकथामका बारेमा छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाबाट फैलिएको दादुरा अहिले बाँकेका ५ वटा पालिकामा फैलिसकेको छ । आजमात्रै सात जना दादुराका नयाँ विरामी फेला परेका छन् । यो सँगै जिल्लामा दादुरा संक्रमित बालबालिकाको संख्या २९४ पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले खोप नलगाएका बालबालिकाहरु दादुराबाट सबैभन्दा बढी संक्रमित भएका छन् ।

दादुरा नियन्त्रणका लागि खोप नै उपयुक्त विकल्प भएकाले आफ्ना छोराछोरीलाई खोप लगाउन पौडेलको आग्रह छ । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी विकको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले दादुरा रोग नियन्त्रणका लागि स्थानीय सरकारले गर्न सक्ने नीतिगत सवालमा प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा.तुलसी रमण पाल, डा.सोनिया भगत, युनिसेफका कार्यक्रम प्रवन्धक शिव सुवेदीलगायतले दादुराको जोखिम, रोकथाम र उपचारका सवालमा भइरहेका प्रयास र गर्नुपर्ने सजकताबारे जानकारी दिएका थिए ।

बाँकेबाट शुरु भएको दादुरा महामारी कैलालीसम्म पुग्यो

कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन् । समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ । जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धनगढीको वडा नम्बर १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । यस्तै, गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १/१ जनालाई दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले संक्रमण देखापरेको स्थानमा खोप अभियान सञ्चालन गर्ने बताएका छन् ।

’जिल्लाको तीन स्थानीय तहका ७ जनामा दादुरा देखापरेको छ,’ उनले भने, ’संक्रमण अन्यत्र पनि फेलिए नफैलिएको यकिन गरेर तुरुन्तै खोप अभियान चलाउने तयारी भइरहेको छ ।’

सरकारले सन् २०२३ मा नेपालबाट दादुरा रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ । तर केही दिन अगाडि लुम्बिनी प्रदेशको बाँके जिल्ला र अहिले आएर कैलालीमा दादुराको संक्रमण देखा परेको हो । जसले गर्दा सरकारले यो वर्षको अन्त्यमा दादुरा उन्मुलन भएको घोषणा गर्ने कार्यक्रम प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

Nabintech