काठमाडौं : मंगलबार संसद् भवनअगाडि इलामका प्रेम आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे। समयमै प्रहरीले उद्धार गरेर अस्पताल पठाए पनि उनको निधन भयो।
पछिल्लो समय मानिस विभिन्न कारणले आत्महत्याको बाटो रोज्न गरेका तथ्याङ्क बढ्दै गएका छन्। त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार कोभिड महामारीपछि आर्थिक कारण देखाउँदै डिप्रेशनमा जाने र आत्महत्याको बाटो रोज्ने बिरामीको संख्या बढ्दै गएको छ।
बढ्दै छन् विरामी धेरै
सामान्य तथा कडा खालका एन्जाइटी तथा डिप्रेशनको समस्या लिएरै हाल दैनिक ८० देखि १०० जनासम्म विरामी त्रिवि शिक्षण अस्पतालमा परीक्षणका लागि आउने गरेको डा. ओझाको भनाइ छ। ‘कोभिड महामारीपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने विरामी धेरै बढेका छन्। हाम्रो अस्पतालमा नै दैनिक ८० देखि १०० जनासम्म विभिन्न खालका मानसिक समस्या लिएर आउनुहुन्छ। तीमध्ये १५ जना जति त कडा खालका डिप्रेशनका विरामी हुनुहुन्छ’‚ डा. ओझाले भने।
किन बढ्दै छ मानिसमा डिप्रेशनको समस्या
कोभिड महामारी अघिसम्म अस्पतालमा आउने धेरै विरामी पारिवारिक कारण, प्रेममा असफल, पढाइमा असफल भएर एन्जाइटी तथा डिप्रेशनमा गएको पाइन्थे। हाल यसरी अस्पताल आउने धेरै विरामीमा आर्थिक समस्या नै प्रमुख कारण रहेको पाइएको डा. ओझाको भनाइ छ।
व्यापार व्यवसाय घाटामा जाने र आर्थिक अवस्था कमजोर अवस्थामा पुगेपछि मानिस विस्तारै मानसिक रूपमा तनावमा रहने र लामो समयसम्म तनावग्रस्त अवस्थामा रहेपछि मानिस डिप्रेशनमा पुगेर केही विकल्प नदेखेपछि आत्महत्याको बाटो रोज्नेको संख्या बढेको उनले बताए।
‘मानिस एकैपटक डिप्रेशनमा पुग्दैन‚ शुरुमा आफूले भने जस्तो नभएपछि मानिस तनावमा रहन्छ जसले गर्दा मानिस डराउने तथा धेरै आत्तिने गर्छ। यही अवस्थामा मानिसलाई परामर्श दिन सकियो भने धेरै राम्रो हुन्छ तर लामो समयसम्म मानिस आफूले भनेजस्तो नभएपछि आत्तिने र डराउने हुन्छ। जसले गर्दा मानिस डिप्रेशनमा पुग्छ’‚ डा. ओझाले भने‚ ‘डिप्रेशनमा पुगेपछि धेरैले आत्महत्याको बाटो रोज्ने गर्छन्।’
के हो डिप्रेशन?
धेरैले डिप्रेशन र एन्जाइटीलाई एउटै तरिकाले बुझ्ने गरेको पाइन्छ। एन्जाइटी र डिप्रेशनमा धेरै फरक रहेको डा. ओझाको भनाइ छ। ‘एन्जाइटी भनेको मानसिक रूपमा डराउने र आत्तिने अवस्था हो, जुन परामर्शले पनि ठिक पार्न सकिन्छ। अलि कडा खालकै एन्जाइटी रहेछ भने चिकित्सकको निगरानीमा बस्नुपर्छ‘‚ डा. ओझाले भने‚ ‘डिप्रेशन भनेको मानिस उदास हुने अवस्था हो, लामो समयसम्म मानिस उदास अवस्थामा छ जीवनदेखि नैराश्य अनुभव गरिरहेको छ भने कडा खालको डिप्रेशनमा पुगेर अन्तिममा मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन्।’
मानिसमा यही कारणले डिप्रेशन हुन्छ भन्ने हुँदैन हरेक मानिसमा छुट्टाछुटै कारणले डिप्रेशन हुन्छ। आर्थिक कारण, प्रेममा असफल, विभिन्न खालका पारिवारिक तनावमा मानिस लामो समयसम्म रहेको छ भने मानिस विस्तारै डिप्रेशनमा पुग्ने डा. ओझाको भनाइ छ।
लामो समयदेखि मानिस विभिन्न सामाजिक कारणले तनावमा छ भने हाम्रो मस्तिष्कमा पाइने विभिन्न रसायन सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिन जस्ता रसायनमा परिवर्तन ल्याइदिन्छ जसले गर्दा शरीरमा पाइने विभिन्न प्रकारका हार्मोनमा परिवर्तन हुन थाल्छ र मानिस मानसिक र शारीरिक रूपमा समेत कमजोर हुँदै जान्छ जुन अवस्थामा मानिस कडा खालको डिप्रेशनको अवस्थामा पुग्ने डा. ओझाको भनाइ छ।
कसरी थाहा पाउने
डा. ओझाका अनुसार डिप्रेशनको मुख्य लक्षण भनेको मन उदास हुनु हो। यस्तै मानिससँग धेरै घुलमिल नहुनु, एकोहोरो हुनु अथवा टोलाइरहनु जस्ता लक्षण डिप्रेशनको मुख्य लक्षण हो। यदि कोही मानिस आफ्नो व्यावहारिक जीवनमा केही कठिनाइ आइरहेको छ र मानिसमा विस्तारै उदासी आइरहेको अनुभव भएको छ भने डिप्रेशनको लक्षण शुरु भएको प्रारम्भिक अवस्थामा परामर्श दिन सकियो भने पनि धेरै राम्रो हुन्छ तर लामो समयदेखि मानिस उदास छ, एकोहोरो अवस्थामा छ भने मानिसले केही विकल्प नदेखेपछि आत्महत्याको बाटो रोज्ने गर्छन्’‚ डा. ओझाले भने।
परिवारको भूमिका
विभिन्न मानसिक स्वास्थ्य समस्या भएका अथवा डिप्रेशनमा परेका विरामीको उपचारमा परिवारको धेरै ठूलो हात हुन्छ। यदि आफ्नो परिवारमा कुनै पनि व्यक्ति लामो समयदेखि उदास हुने, जीवनदेखि हार खाएको वा नैराश्यको मात्रै कुरा गर्ने जस्ता लक्षण देखाउँछन् भने परिवारका अन्य सदस्यले ती व्यक्तिको विशेष हेरचाह गर्नुपर्ने, उनीहरूको कुरा सुनिदिनुपर्ने डा. ओझाको भनाइ छ।
‘डिप्रेशन मात्रै होइन अन्य विभिन्न खालका मानसिक स्वास्थ्य समस्या भएका विरामीलाई परिवारको साथ राम्रो भयो भने धेरै दुर्घटनालाई टार्न सकिन्छ, यदि शुरुकै अवस्थामा व्यक्ति छन् भने त्यस्ता व्यक्ति कुरा सुनिदिने, जीवनप्रति आशा जगाउने कुरा गरिदिने‚ सँगै भइदिने मात्रै गर्न सके पनि धेरै राम्रो हुन्छ’‚ डा. ओझाले भने‚ ‘यसका साथै सम्बन्धित चिकित्सकलाई देखाउने र परामर्श गर्ने हो भने डिप्रेशनका विरामीलाई शतप्रतिशत बचाउन सकिन्छ।‘