११ मंसिर २०८१, मंगलवार
मलमासले धकेलिए चाडपर्व:आगामी वर्ष कात्तिकमा दशैँ, असोजमा तीज

घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार


  • टाइम्स संवाददाता

  • १६ माघ २०७९, सोमबार ०६:४५

काठमाडौं : २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ। फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन्। कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ।

‘यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन्’ नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले भने, ‘यो वर्ष साउन २ गते देखि ३१ गतेसम्म अधिक मास रहनेछ।’

समितिबाट स्वीकृति पाई प्रकाशित पात्रोका अनुसार मलमासअघिका चाडपर्व भने अगाडि आएका छन्। जस्तै आमाको मुख हेर्ने दिन वैशाख ७ मा नै परेको छ। अक्षय तृतीया पर्व वैशाख १० गते छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने बुद्धजयन्ती वैशाख २२ गते परेको छ। चण्डीपूर्णिमा र उधौली पर्व पनि यही दिन मनाइन्छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी असार १४ गते परेको छ। यो दिन तुलसीरोपण गरिन्छ। गुरुपूर्णिमा असार १८ गते छ। गुरुपूर्णिमाको एक महिनामा पर्नुपर्ने जनैपूर्णिमा वा रक्षाबन्धन अधिक मासका कारण भदौ १४ गते परेको छ। तिथिको घटबढका कारण नेवार समुदायले गाईजात्रा पर्व पनि त्यही दिन मनाउनेछ। ५ घटी १८ पला पूर्णिमापछि त्यसै दिन प्रतिपदा लाग्ने भएकाले दुवै पर्व एकैदिन परेको पञ्चांगमा उल्लेख छ।

नागपञ्चमी भने भदौ ४ गते परेको छ। यस्तै श्रीकृष्णजन्माष्टमी पर्व भदौ २० गते मनाइने छ। कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन भदौ २८ गते परेको छ।

तीजपर्व असोजको १ मा पुगेको छ। गणेशचतुर्थी र ऋषिपञ्चमी असोज २ गते नै मनाइने पञ्चांगमा उल्लेख छ। त्यो दिन १२ घटी २५ पलासम्म चतुर्थी र त्यसपछि पञ्चमी लाग्ने बताइएको छ।  सोह्र श्राद्ध असोज १३ गते सुरु भई २७ सम्म रहनेछ।

तिहारको लक्ष्मीपूजा कात्तिक २६ गते परेको पञ्चांगहरूमा उल्लेख छ। त्यसै दिन बिहान कुकुरपूजा गरिनेछ। भोलिपल्ट २७ गते औँसीका दिन गाईपूजा गर्न निर्देश छ। सोमबार परेको औँसी भएकाले सोमबारे औँसी पनि मनाइनेछ। कात्तिक २८ गते गोवर्धन पूजा गरिनेछ। यसै दिन नेपाल संवत् ११४५ शुरु हुनेछ। नेवार समुदायले यो दिन म्हपूजा गर्नेछ। कात्तिक २९ गते भाइटीका परेको छ।

छठपर्व मंसिर ३ गते परेको छ। ठूली एकादशी अर्थात् हरिबोधिनी एकादशी मंसिर ७ गते परेको छ। चतुर्मास पूरा हुने पूािर्णमा मंसिर ११ गते छ। पितृको सम्झनामा पशुपतिनाथमा शतबीज छर्ने दिन आर्थात् बालाचतुर्दशी  मंसिर २५ गते परेको छ।

जनकपुरको विशेष दिन विवाहपञ्चमी पुसको १ गते परेको छ। मंसिरे पूर्णिाम अर्थात् धान्य पूर्णिमा पुस १० गते छ। यो दिन नेवार समुदायको योमरीपुन्हि पर्छ भने किरात समुदायले उभौली पर्व मनाउँछ। तीर्थस्थलमा श्राद्ध गर्ने पौषे औँसी  पुस २६ गते परेको छ। माघ शुक्ल प्रतिपदामा मनाइने सोनम ल्होसार माघ २७ गते परेको छ।
पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत आरम्भ गर्ने पूर्णिमा माघ ११ गते परेको छ। वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी फागुन २ गते छ। स्वस्थानी व्रत भने फागुन १२ गते समापन गरिनेछ।

पाल्गुण शुक्ल पूर्णिमामा मनाइने फागुपूर्णिमा चैत ११ गते मनाइने छ। ११ गते ९ घटी ३८ पलासम्म चतुर्दशी रही पूर्णिमा तिथि लाग्ने उल्लेख छ । तराई–मधेश क्षेत्रमा १२ गते होली मनाइने छ। पूर्णिमामा पहाडी क्षेत्रमा र प्रतिपदामा तराई क्षेत्रमा फागु वा होली मनाउने प्रचलन छ।काठमाडौंको घोडेजात्रा चैत २६ गते परेको छ।

Nabintech