दाङ: बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९ वटै वडामा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
तुलसीपुरको काकिला मन्दिर र कृष्ण मन्दिरमा नागरिकता हेरेर विवाह गर्ने निर्णय नै भएको भन्दै सबै मन्दिर तथा गाउँघरमा गरिने विवाहमा पनि पण्डितहरूले नागरिकता हेर्ने गर्नुपर्ने बाल अधिकारकर्मी नवराज लामिछानेले बताए । “बालविवाह गराएमा पण्डितलाई पनि मुद्दा चल्छ, त्यसैले सचेत हुनुपर्छ”, उनले भने, “पण्डितहरू सचेत भए बालविवाह धेरै न्यून हुन्छ ।” सम्बन्धित वडाको सहआयोजना तथा युनिसेफको समन्वयमा कार्यक्रम भइरहेको उनले बताए । तुलसीपुरका चारवटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।