११ मंसिर २०८१, मंगलवार
डोल्पाका कर्मचारी ‘काठमाडौँ बस्छन्,उपल्लो डोल्पाको तलब खान्छन्’

सुत्केरी दर र गर्भवती जाँचको संख्या समेत जिरो


  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०७९, आईतवार १६:४५

डोल्पा : उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन् । हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ ।

पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो । सडकको पहुँच नपुगेको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट घोडा, खच्चड र मानिस आफैँले पनि दैनिक उपभोग्य सामग्रीदेखि अन्य निर्माण सामग्री ढुवानी गरेर लिनुपर्ने बाध्यता रहँदै आएको छ । पाँच वर्ष अघिसम्म मध्य डोल्पासम्म घोडा,खच्चडकै सहारामा ढुवानीको काम हुने गर्दथ्यो भने अहिले विस्तार त्यो चलन दुनैसम्म पुगेको पुगेको छ ।

उपल्लो डोल्पामा पशुपालन गर्नु मुख्य कारण नै ढुवानीको आधार तयार गर्नु पनि हो । अग्ला, अग्ला हिमालहरुको बीचमा २७ वटा गाउँ उपल्लो डोल्पामा रहेका छन् । गुम्वा, प्राचिन कालमा निर्माण भएका बिभिन्न धर्मसँग सरोकार राख्ने मूर्ति तथा चालचलनदेखि रहनससहन समेत उपल्लो डोल्पाको फरक रहेको छ । गर्मीयाममा समेत चिसो नै हुने हिमालको छेउमै रहेका सानासाना होचो घरहरुमा यहाँका सर्वसाधारणहरुको जीवन चल्दै आएको छ । यिनै गाउँ र पालिकालाई जोडेर शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज समेत रहेको छ । निकुन्ज सुरक्षाका लागि स्थापना गरिएको कार्यालय समेत दुनै नजिकै सुलिगाडमा रहेका छन् ।

द्वन्द्वालमा सुरक्षाको कारण देखाउदै सुलिगाड झरेको निकुन्ज सुरक्षार्थ खटिएको  निकुन्ज कार्यालय अहिलेसम्म सुलिगाडमै रहेको छ । उपल्लो डोल्पामा स्थापना भएका पालिकाहरु समेत नाममा मात्र भएका छन् ।

भौतिक रुपमा यहाँका जनप्रतिनिधिहरु छिटफुट मात्रामा बसे पनि कर्मचारी उपल्लो डोल्पामा बस्नु फलामको चिउरा चपाएझैँ हुँदै आएको सर्वसाधारणहरु बताउँछन् । शे फोक्सुण्डो गाउँपालिकामा अन्य दुई पालिकाभन्दा अलि फरक रहेको छ । यहाँका जनप्रतिनिधिदेखि कर्मचारीहरु केही खटिने गरेको पाइएको छ । सेवा प्रवाहमा सबैभन्दा छार्का ताङसोङ गाउँपालिकामा कर्मचारीहरु स्थानीयबासीको सम्पर्कमा जान असमर्थ हुँदै आएका छन् । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अधिकांश समय सदरमुकाम दुनै,सुर्खेत र काठमाडौँमा समय बिताउने गरेको पालिकाका अध्यक्ष सेनांङ गुरुङले बताउनुभयाे।

सेवाग्रहीले फोन गरेपनि फोन नै नउठाउने अधिकृतको रुपमा यस पालिकाका अमरराज सेजुवाल रहेको पालिकाका अध्यक्षले नै आरोप लगाएका छन् ।

पर्यटन, जलस्रोत, पशुपालन र जडीबुटी छार्का ताङसोङको आधार दीर्घकालिन दृष्टिकोण, सुशासन, गरिबी निवारण र रोजगार  भन्ने नारा रहेको यो पालिकामा सरकारी सेवा पाउन सर्वसाधारणलाई सास्ती हुने गरेको छ । दुई महिनाअगाडि काठमाडौँ गएका अधिकृत सेजुवाल र पालिकाका कर्मचारीहरु अहिलेसम्म पालिकामा पाइला नटेक्दा सेवा लिने सर्वसाधारणहरु हैरान भएका छन् । त्यस्तै यहाँको स्वास्थ्य सेवा समेत लथालिङग रहेको छ । नाम मात्रका स्वास्थ्य संस्था हुँदा दैनिक आम्चीकै भरमा यस पालिकाको उपचार सेवा सञ्चालन हुँदै आएको छ ।

पालिकामा दरबन्दी रहेका स्वास्थ्यकर्मीहरु सदरमुकाम दुनैदेखि अन्य ठाउँमा व्यक्तिगत काममा व्यस्त हुँदा यहाँका नागरिकले स्वास्थ्य सेवा पाउन नसकेका हुन् । सुरक्षित सुत्केरी तथा गर्भ जाँचको रेकर्ड हेर्ने हो भने यो पालिकाको शून्य रहेको छ । पालिकामा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारणले स्वास्थ्य सेवा नपाएका हुन् । भगवानको भरोसामा आम्चीको सहयोगमा सुत्केरी हुने गरेको वडा नम्वर ४ का स्थानीयबासी पालेन बुढाले बताउनुभयाे । कात्तिकदेखि फागुनको अन्तिमसम्म यस पालिकामा सबै खालका खोप सेवा समेत बन्द हुने गर्दछन् । चिसोका कारण देखाउँदै स्वास्थ्यकर्मीहरु व्यक्तिगत काममा लागेपछि सबै खोपहरु बन्द हुने गरेका हुन् ।

जनप्रतिनिधिले कर्मचारीलाई कर्मथलोमा बस्न आग्रह गरे पनि नमान्दा आफूहरु हैरान भएको पालिका अध्यक्ष सेनांङ गुरुङले दुखेसो गर्नुभयाे ।डोल्पोबुद्ध गाउँपालिकाको हालत पनि छार्काताङसुङ भन्दा काम छैन । यहाँका प्रमुख प्रशासकीय अधिकृत मोवाइन नम्बरसमेत सधैँ अफ हुन्छ । यदि फोन लागि हाले पनि उठन मुस्किल हुने गर्दछ । यहाँको सुत्केरी दर र गर्भवती जाँचको संख्या समेत जिरो रहेको छ ।

अधिकांश कर्मचारीहरु पालिकामा पाइला नटेकी सदरमुकाम दुनैबाट तलव बुझने गरेको जनप्रतिनिधि नै बताउने गरेका छन् । मंसिरदेखि फागुनसम्म कर्मचारीहरु व्यक्तिगत काममा लागेका पाइन्छ । अन्य समयमा समेत सदरमुकाम बसेर उपल्लो डोल्पा बसेको कागज बनाइ एक मुस्ट हाजिरी लगाउने गरेको पाइन्छ ।  यहाँका कर्मचारीको निगरानी, अनुगमनदेखि अन्य सेवा प्रवाहको जाँच मुल्यांकन कसले गर्ने प्रश्न उठदै आएको छ ।

Nabintech