काठमाडौँ: नेपालमा अझै पनि हात्तीपाइले रोग आम समस्याका रूपमा छ। नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो। तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ। संसारभर नै हात्तीपाइले रोग निवारणका लागि दुई रणनीति अपनाइएको छ। पहिलो– आम औषधि सेवन र अर्को– रोग पत्ता लागिसकेका बिरामीलाई व्यवस्थापन गरेर हेरचाह गर्ने। नेपाल सरकारले यही फागुन ११ गतेदेखि ५ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु गर्दै छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार आम औषधि झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा खुवाउन लागिएको हो। फागुन ११ देखि २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको डा. दाहालले जानकारी दिए।
यी १५ जिल्लामा हरेक दुई–दुई वर्षमा रगत जाँच गरी हेर्दा यी रोगको दर अपेक्षाकृत रूपमा नघटेकाले पुनः औषधि खुवाउन लागिएको उनले बताए। बाँकी १५ जिल्लामा औषधि सबैले नखाइदिनाले पुनः अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।
‘यी १५ जिल्लामा औषधि खुवाउन पाउने भनेको यस वर्ष र अर्को वर्ष मात्र हो, त्यसपछि खुवाउन हामीलाई छुट छैन। किनभने हाम्रा लागि त्यसपछिको समय भनेको निरीक्षण गर्ने हो’, उनले भने।
शिक्षित नै खाँदैनन् औषधि
महाशाखाका निर्देशक डा. चुमनलाल दासले हात्तीपाइले रोगविरुद्धको औषधिबारे गलत धारणा भएकाले खान नमान्दा निवारणमा समस्या देखिएको बताए।
उनले भने, ‘धेरैले औषधि लिएर घर जाने तर नखाएको पाइएको छ। अहिले हामीले स्वास्थ्यकर्मीकै अगाडि औषधि खानैपर्ने नियम बनाएका छौं। आम औषधि सेवनका लागि सबैको साथ र सहयोगको आवश्यकता छ।’ हात्तीपाइले रोगबाट बच्न सबै जनाले यसविरुद्धको औषधि खानैपर्छ भनेर जनचेतना फैलाउन निकै जरुरी रहेकोमा उनले जोड दिए।
‘यो औषधि निकै सुरक्षित मानिन्छ। हात्तीपाइले रोगबाट बच्ने उपाय भनेको यो औषधि मात्र हो। हात्तीपाइले रोग निवारणका लागि यो औषधि रामवाण हो। यो म्यासेज जनमानसमा गुन्जिन निकै आवश्यक छ’, जनस्वास्थ्य अधिकृत महतोले भने।
जनस्वास्थ्य अधिकृत महतो भन्छन्, ‘अशिक्षित वर्गले जनचेतना अभावले गर्दा औषधि खान नमाने पनि पीएचडी गरेका शिक्षित वर्गले पनि औषधिका बारेमा नकारात्मक धारणा बनाएकाले खान मान्दैन, जसले गर्दा हात्तीपाइले निवारणमा कठिनाइ भइरहेको छ।’
हात्तीपाइले रोगका लक्षणहरू खासै देखिँदैनन् तर परजीवीहरू शरीरमा हुन सक्छन् र औषधिहरू खायो भने ती परजीवीहरू मर्छन् र भविष्यमा लाग्न सक्ने उक्त रोगबाट पनि बच्न सकिने उनी बताउँछन्।
उनी भन्छन्, ‘समुदायमा कोही व्यक्तिमा रोगको परजीवी छ र उनीहरूलाई लामखुट्टेले टोकेर अन्य औषधि सेवन गरेका व्यक्तिलाई टोक्दा पनि सार्न सक्दैनन्। त्यसैले औषधिको सेवन गर्नुपर्छ।’
सात वर्षमा निवारण गर्नैपर्छ
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तीपाइले रोग निवारण गर्ने भनेपछि त्यसमा नेपालले पनि हस्ताक्षर गरेको थियो।
नेपालले अहिले विश्व स्वास्थ्य संगठनसँग फेरि सन् २०३० सम्ममा जसरी भए पनि नेपालबाट हात्तीपाइले रोग निवारण गरेरै छोड्ने प्रतिबद्धता जनाएको महाशाखाका जनस्वास्थ्य अधिकृत महतोले जानकारी दिए।
‘हामीले सन् २०२० मै हात्तीपाइले रोग निवारण गर्ने प्रण गरेका थियौं, त्यो पूरा हुन नसकेपछि २०३० सम्मको समय मागेका छौं। अब हामीलाई कुनै छुट छैन। यो बेलासम्म जसरी भए पनि निवारण गरेरै छोड्नुपर्छ’, उनले भने।
कुनै पनि जिल्लामा हात्तीपाइलेको परजीवी २ प्रतिशतभन्दा कम भयो भने त्यसलाई निवारण भएको भन्न मिल्ने उनको भनाइ छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग रोग सर्न सक्दैन भने पनि त्यसलाई निवारणको अवस्था मान्न सकिने उनले बताए।
के हो हात्तीपाइले रोग?
हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपांग बनाउने एउटा सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ।
मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षण (जस्तै : हात्तीपाइले र अण्डकोष सुन्निने) देखिन्छन्। रोगका लक्षण देखिइसकेपछि निको पार्न सकिँदैन। धेरैजसो संक्रमण लक्षणबिनाको हुन्छ, जसबाट समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना बढी हुन्छ।
विश्वमा सन् २००० मा ७२ देशमा १२ करोड मानिसमा हात्तीपाइले रोग पुष्टि भएको थियो। जसमध्ये जम्मा ४ करोड बिरामीमा मात्र लक्षण देखिएका थिए। त्यो संख्या अहिले आएर ७२ प्रतिशतले घटेको अर्थात् ५ लाखमा झरेको छ। यो सबै आम औषधि सेवनले नै सम्भव भएको महतोले जानकारी दिए।
औषधि कसले नखाने?
आम औषधि सेवन अभियान सञ्चालन गरिएका १५ जिल्लाका औषधि खान योग्य सबै व्यक्तिले खानैपर्ने महतोको भनाइ छ।
तर २ वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा सिकिस्त बिरामी (ओछ्यान परेका, अस्पताल भर्ना भएका र डायलाइसिस गराइरहेका) ले औषधि खानु नहुने उनले जानकारी दिए। त्यस्तै उनले हात्तीपाइलेको औषधि खाली पेटमा खान नहुने उनले बताए।
‘शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरूमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। त्यस्तो भएमा औषधिले प्रभावकारी रूपमा काम गर्दै छ भन्ने बुझ्नुपर्छ’, उनले भने।
औषधि खाइसकेपछि देखिने र सामान्य लक्षण केही घण्टामा आफैँ हराएर जान्छन्, तर केही गरी लक्षण लामो समयसम्म रहिरहे चिकित्सकसँग परार्मश लिनुपर्ने उनी बताउँछन्।
महाशाखाको तथ्यांकअनुसार हात्तीपाइले रोगका कारण हालसम्म ४० जिल्लाका ३२ हजार जनामा अपांगता तथा हाइड्रोसिलको समस्या देखिएको छ। सरकाले हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि प्रत्येक वर्ष १ अर्ब लगानी गरिरहेको छ।
आगामी फागुन ११ देखि सञ्चालन हुने आम औषधि सेवन अभियानका लागि पनि सरकारले १ अर्ब ५ करोड बजेट छुट्याएको छ। यस वर्ष स्थानीय तहका लागि २० करोड २०, प्रदेश/जिल्लामा १ करोड ६० लाख, संघमा १२ लाख र औषधिका लागि ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको महाशाखाले जनाएको छ।