८ मंसिर २०८१, शनिबार
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले चैतदेखि पौडी पोखरी सर्वसाधारणका लागि खुल्ला गर्ने

सर्वसाधारणका लागि प्रति सिफ्ट दुई सय रुपैँया र विद्यार्थीका लागि प्रति सिफ्ट एक सय रुपैँया शुल्क निर्धारण


  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०७९, मंगलवार १५:२९

बाँके: मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले १ चैतदेखि पौडी पोखरी (स्विमिङम पुल) सर्वसाधारणका लागि खुल्ला गर्ने भएको छ । गर्मी बढेसँगै पौडी पोखरीलाई सफा गरि खेल्न योग्य बनाउन लागिएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए ।
उनले संचालनका लागि पौडी पोखरी मर्मत र सफाई भइरहेको बताए । ‘पुरानो पानी फाल्ने, लेउ लगायत अन्य फोहर सफा गर्ने काम जारी छ । एक–दुई दिन भित्र सफाईको काम सकेर नयाँ पानी हाल्ने र फिल्टर लगायत प्रविधिबाट पानी सफा पारेर संचालनमा ल्याउँछौँ,’ उनले भने ।
नेपालगन्ज रंगशालामा रहेको स्विमिङ पुल प्रयोगका लागि शुल्क निर्धारण गरिएको छ । स्विमिङ पुल संचालनका लागि मापदण्ड तयार गरि मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले शुल्क निर्धारण गरेको हो ।

समितिले सर्वसाधारणका लागि प्रति सिफ्ट दुई सय रुपैँया र विद्यार्थीका लागि प्रति सिफ्ट एक सय रुपैँया शुल्क निर्धारण गरेको कार्यालय प्रमुख चन्दले बताए । उनले मासिक, अर्ध बार्षिक र बार्षिक सदस्यता शुल्क समेत निर्धारण भएको बताए । समितिले स्पेशल र सदस्य समुहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । स्पेशल र सदस्य समुहका लागि विहान ८–१० बजे र स्पेशल ग्रुपका लागि बेलुकी ४:३०/६:३० बजेको समय निर्धारण गरिएको लेखा अधिकृत मिनबहादुर जिसीले बताए । ‘सदस्य समुहका लागि बेलुकी ४:३०/७:३० बजेसम्म निर्धारण गरिएको छ । सर्वसाधारण महिलालाई विहान ११–१ बजेको समय दिइएको छ । महिलाका लागि दिइएको समयमा पुरुषलाई प्रवेश गर्न दिइने छैन,’ उनले भने ।
स्विमिङ पुल संचालनका लागि प्रशिक्षक र जीवन रक्षकको ब्यवस्था गरिएको बताउँदै उनले स्विमिङ गर्नुभन्दा पहिले अनिवार्य रुपमा सावर लिनुपर्ने नियम बनाइएको बताए । उनले स्विमिङ गर्नेहरुले अनिवार्य रुपमा स्विमिङ कस्टम लगाउनु पर्ने नियम रहेको जानकारी दिए ।

Nabintech