अकारण एमालेलाई धोका दिएर काँग्रेसको पोल्टामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कम्फर्टेवल सरकार बनाउने प्रयास सफल हुन सकेको छैन । छिमेकी भारतको लागि कम्फर्टेवल सरकार बनाउनु पर्ने भन्दै नेकपा विभाजन गरेका उनी अहिले पनि भारतलाई रिझाएर सरकारमा टिकिरहने रणनीतिमा निरन्तर छन् ।
राजनीतिलाई केवल जालझेल, षडयन्त्र र कमाउ धन्दाको रूपमा बुझेका प्रचण्डको तेस्रो पटकको सत्तारोहण पनि चटकी पाराले नै भएको हो । दुई महिना पनि नपुग्दै एमालेसँगको सहमति तोडेर बेड पार्टनर फेरेका प्रचण्डका दुःखका दिन सुरु भइसकेका छन् । एकातिर दश दल मिलाएर ‘भ्यागुताको धार्नी’ पुर्याएका प्रचण्डलाई उनीहरूको चाहनाअनुसार मालदार मन्त्रालय दिन सक्ने अवस्थामा छैनन् भने अर्कोतिर दशतिर मुख फर्केका दललाई नीतिगत सूत्रमा बाँधेर अगाडि बढ्न उनलाई फलामको च्यूरा चपाएसरह हुनेछ ।
सत्तारूढ गठबन्धनको प्रमुख खेलाडी नेपाली काँग्रेसको सत्ता लिप्सा र सो पार्टीभित्रको गुट व्यवस्थापन प्रचण्डको अर्को टाउको दुखाइको विषय हुनेछ । गगन थापा लगायतका नेताहरू अहिले नै प्रचण्डलाई धम्क्याउन थालिसकेका छन् भने प्रचण्डलाई डिफ्याक्टो प्रधानमन्त्री बनाएर आफूले शासन गर्ने आरजुको तीव्र आकाङ्क्षा सतहमै छ । संसद्को सबभन्दा ठुलो दलको हैसियतले प्रचण्डलाई हटाएर जुनसुकै समय एकलौटी सरकार बनाउन सक्ने अवस्थामा रहेको नेपाली काँग्रेसको दबदबा प्रधानमन्त्री प्रचण्डमाथि बढ्दै जाने निश्चित छ । प्रधानमन्त्रीमा राज्यको कार्यकारी अधिकार भए पनि अरूलाई नसोधी एक पाइला पनि अघि बढ्न नसक्ने निरीह अवस्थामा प्रचण्ड पुगिसकेका छन् ।
गठबन्धन परिवर्तन हुने बेला आफ्नो मात्र पार्टी सरकारमा भएको बेला उनले गरेका केही निर्णय पनि कार्यान्वयनमा आउन सक्ने अवस्था छैन । ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने निर्णय त्यति बेला नै विवादमा परेको थियो भने कार्यविधि बनाएर ‘अयोग्य लडाकु’लाई राज्य कोषबाट रकम बाँड्ने उनको निर्णय सत्तारूढ गठबन्धनबाटै विरोध भइरहेको छ ।
देश आर्थिक सङ्कटमा रहेको बेला राज्यको ढुकुटीबाट जथाभाबी रकम बाँड्ने प्रचण्डको नीति घातक र खतरनाक छ । आफ्नो र आफ्नो पार्टी स्वार्थको लागि आफ्ना कार्यकर्ता पोस्न सङ्कटग्रस्त राज्यको ढुकुटी रित्याउन दिन गठबन्धन दल पनि सहमत भएमा उनीहरूले समेत जनताको आक्रोशको सामना गर्नु पर्नेछ ।
प्रधानमन्त्री प्रचण्डको घोषित नीति नै ‘भद्रगोलमा गोल गर्ने’ हो । राज्यमा जति धेरै भद्रगोल र अस्तव्यस्तता भयो, आफूलाई त्यति नै फाइदा हुन्छ भन्ने उनको स्थायी बुझाइ हो । शान्ति प्रक्रियामा आए लगत्तै उनले भनेका थिए,’कि शक्ति बन्दुकमा हुँदो रहेछ, कि शक्ति पैसामा हुँदो रहेछ ।‘ विस्तृत शान्ति सम्झौतापछि हतियार बुझाएका प्रचण्ड शक्ति आर्जनका लागि पैसा जोहो गर्ने अभियानमा छन् । उनी मात्र होइन, सत्तामा पुगेका उनका प्राय: सबै नेता कार्यकर्ता यो मिसनमा दत्तचित्त भएकै छन् ।
राज्यको ढुकुटी दोहन गर्नमा नेपाली काँग्रेससँग प्रचण्डको स्पिरिट मिलेको हुनाले प्रचण्डको लभ नेपाली काँग्रेससँगै परिरहेको छ । एमालेसँग प्रचण्डको गठबन्धन टुट्नुको प्रमुख कारण यही हो । एमालेको राष्ट्रप्रतिको जबाफदेहिता, पारदर्शिता र सुशासनसँग प्रचण्डको आधारभूत चरित्र मिल्ने अवस्था रहेन ।
विद्रोह, विध्वंस र विपत्तिको माध्यमबाट राजनीतिमा उदाएका प्रचण्डको दिमागले राष्ट्रनिर्माणमा योगदान गर्ने सम्भावना देखिँदैन । दुई पटक प्रधानमन्त्री भइसक्दा देश, जनता र राष्ट्रको पक्षमा देखिने काम गर्न नसकेका प्रचण्डले वर्तमान खिचडी सरकारमा उल्लेख्य केही गर्लान् भन्ने आस गर्नु व्यर्थ हुनेछ । प्रधानमन्त्रीको कुर्सीमै बसेर विद्रोहको भाषण गर्ने प्रचण्डको ध्यान कता छ भन्ने प्रष्ट हुँदैन र रु
प्रचण्ड नेतृत्वको सरकार जति लामो समय टिक्छ, त्यति नै समयको बर्बादी हो । नेपाली उखान ‘नमच्चिने पिङका सय झड्का’ प्रचण्ड सरकारसँग मेल खान्छ । वैचारिक, साङ्गठनिक र नेतृत्वको हिसाबले देशको सबभन्दा शक्तिशाली पार्टी नेकपा९एमाले०लाई घेराबन्दी गर्ने उद्देश्यका साथ विदेशीको विशेष इसारामा बनेको यो गठबन्धन त्यसको नेतृत्व गर्ने प्रचण्डको सत्ता सहज छैन र बहिर्गमनसम्म पुग्दा उनी निचोरिएको कागतीको हालतमा पुग्नेछन् ।