रुकुमपूर्व : मृत अवस्थामा भेटिएका रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालकिा- ३ रन्माका दुई दिदी बहिनीको पोष्टमार्टम शनिबार आज गरिँदै छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठका अनुसार आज पोष्टमार्टम हुन लागेको बताइन्।
दुई दिदी बहिनीको शव शुक्रबार जिल्ला अस्पताल रुकुमकोट ल्याइएको र आज पोष्टमार्टम हुन लागेको उनको भनाइ छ। तालिम प्राप्त कुकरसहितको प्रहरी टोलीले घटनास्थलको छानबिन गरेको र आज दुवै दिदी बहिनीको शव पोष्टमार्टम हुन लागेको डीएसपी श्रेष्ठले बताइन्।
घटनाको अनुसन्धान भइरहेको र थप भन्ने नमिल्ने उनले बताइन्। घरबाट सिस्नो टोप्ने भनी चैत्र २२ गते दिउँसो घरबाट निस्किएका रन्माका तारामान बुढामगरका दुई छोरी ११ वर्षीया रीना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर २३ गते रन्मा गाउँ नजिकको भीरमा मृत अवस्थामा फेला परेका थिए।
उनीहरूको हत्या गरेर भीरमा फालिएको आशङ्का गरिएको छ। उनीहरूले लगाएका गर गहना लुटिएकाले लुटपाटका लागि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। अनुसन्धानका लागि केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।