११ मंसिर २०८१, मंगलवार
‘सिकलसेल एनिमिया’ नियन्त्रण गर्दै कोहलपुर

सिकलसेल जाँच अनिवार्य गर्नेगरी पालिकाका १५ वटै वडामा अभियान शुरु गरिएको छ


  • टाइम्स संवाददाता

  • २६ चैत्र २०७९, आईतवार १६:०४

नेपालगञ्ज : पश्चिम नेपालको बाँके र वर्दिया लगायतका थारु समुदायमा सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर कार्यान्वयन शुरु गरेको छ । सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले गर्भवती र नौ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न शुरु गरेको हो ।

“वंशाणुगत यो रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र नौ महिनाका बालबालिकामा रगत परीक्षण गरेर सिकलसेल जाँच गर्न सुरु गरिएको हो,” कोहलपुरका मेयर पुर्ण प्रसाद आयार्चले भने । उनले कोहलपुर नगरपालिकामा थारु समुदायसँगै अन्य समुदायमासमेत सिकलसेल एनिमिया देखा परेकोले सिकलसेलको चेन ब्रेक गर्नका लागि गर्भवती र नौ महिनाका बालबालिकामा सिकलसेल जाँच अनिवार्य गरिएको बताए ।

सिकलसेल एनिमिया प्रयोगशालाका ल्याव प्रमुख शिव गौतमका अनुसार नौ महिनामा दादुरा खोप लगाएपछि बालबालिकाको सिकलसेल जाँच गरिने छ भने गर्भवतीको हकमा भने गर्भ रहेको ६–७ महिनामा सिकलसेल जाँच अनिवार्य गर्नेगरी पालिकाका १५ वटै वडामा अभियान शुरु गरिएको छ ।

समुदायमा सचेतना बढेसँगै पहिलेको तुलनामा अहिले सिकलसेल परिक्षण दर पनि वृद्धि भएको ल्याव प्रमुख गौतमले बताए । उनका अनुसार अहिले दैनिक रुपमा प्रयोगशालामा आएर थारु समुदाय तथा अन्य समुदायहरुले पनि सिकलसेल जाँच गर्नेक्रम बढेको छ ।

सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि विज्ञ मानिनुहुने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले आफै खटिएर सो नियन्त्रणका लागि जनेचतनामुलक कार्यक्रमको नेतृत्व गर्दै आएका छन् ।

डा.पाण्डेकै पहलमा कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि गर्भवती तथा नौ महिनाका बालबालिकाको सिकलसेल परीक्षण अनिवार्य गरेको हो ।

विवाहपूर्व रगत जाँच गरेर मात्रै विवाह गर्ने, नौ महिनाको बच्चालाई दादुराको खोप लगाउन आउँदा हेमोग्लोविन जाँच गर्ने, गर्भवती महिलाको पनि हेमोग्लोविन जाँच गरि सबैको रेकर्ड राखेर काम गर्दा मात्र सिकलसेल र थालेसिमिया रोग नियन्त्रण गर्न सकिने चिकित्सकहरुको भनाइ छ ।

Nabintech