कोहलपुर: कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले बैशाख १ गते साधारण सभा तथा अधिवेशनको घोषणा गर्ने बताएको छ । संस्थाको विद्यान अनुसार ५ हजार उपभोक्ता बाट ५ सय प्रतिनिधि चयन र खानेपानी वडा स्तरिय समिति गठन भएको बताउदै अध्यक्ष नर बहादुर मल्लले पुर्व तयारीको काम सकिएको बताएका छन् । २ बर्ष अघि कार्यकाल समाप्त भए पनि कोहलपुर खानेपानीले नयाँ नेतृत्व चयन गर्न नसक्नुका कारण जिल्ला स्थित जलश्रोत समिति विघटन,कोभिड १९ कोरोना भाईरस र संस्थाको विद्यान अनुसार प्रतिनिधि चयन गर्न नसक्नु रहेको बताउदै अध्यक्ष नर बहादुर मल्लले खानेपानीमा दलहरु संवेदनशिल बन्न नसकेको गुनासो गरे ।
अध्यक्ष मल्लले भर्खरै कोहलपुर नगरपालिकामा नगर स्तरिय खानेपानी समिति मेयर पुर्ण प्रसाद आचार्यको नेतृत्वमा गठन भएको जानकारी दिए । कोहलपुर खानेपानी संस्था आ.व ०७८/०७९ सम्मको हिसाबकिताब चुस्तदुरुस्त भएको बताउदै कोषाध्यक्ष एकनारायण चापागाईले संस्थाको विस्तारको तयारी भईरहेको बताएका छन् । उनले कोहलपुर नगरपालिका वडा नं १,२,५,६ र १२ को उपभोक्ता मात्र समेटेको खानेपानीले अब वडा नं १३मा पनि खानेपानी विस्तार गरिने बताएका छन् ।
कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थामा पानी प्रशोधन सहितको ४ लाख ५० हजार लिटर क्षमताका २ वटा ट्याङ्की रहेकामा थप ३ ट्याङ्की निर्माणको लागि विस्तृत योजना तयार भईसकेको कोषाध्यक्ष एक नारायण चापागाईले बताए । उनले खानेपानी सम्बन्धी वडा नं ११ र १० मा वडा स्तरिय कमिटि नबनेकोमा दुखेसो पनि व्यक्त गरे । कोहलपुर बृहत शहरी खानेपानी सरसफाई उपभोक्ता संस्थाले शुद्ध खानेपानीका लागि कोहलपुर टाउन प्लानिङका सम्पुर्ण भुमिगत पाईपहरु फेर्नका लागि अर्थ मन्त्रालयमा ७ करोड ५० लाख बजेटको माग गरिएको जनाएको छ ।