१६ कार्तिक २०८१, शुक्रबार
नेपालगञ्जको आगीपुरमा विहानै जब आगो लाग्यो

गर्मीको समयमा आगलागीका घटनामा बृद्धि हुने भएकाले आगलागी नियन्त्रण र व्यवस्थापनका लागि कृत्रिम अभ्यास


  • टाइम्स संवाददाता

  • २९ चैत्र २०७९, बुधबार १३:३९

नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिका भित्रको एउटा सानो बस्ती, आगीपुर । जहाँ दिनको सुरुवात सुखद विहानीबाट भएको थियो । सबै गाउँलेहरु आ-आफ्नो नित्य कर्ममा व्यस्त थिए । सुखद तवरले सुरु भएको विहानीले शुभ दिनको संकेत गर्दछ भनेझै बस्ती स्वभाविक गतिमा मस्त थियो ।

तर, अचानक विहान ८.५० बजेतिर आगो लागेपछि बस्तीमा भागदौड मच्चियो । मान्छेहरुको विचल्ली भयो । धमाधम घर जल्न थाले । आगलागी हुने वित्तिकै दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई खबर गरियो । स्थानीयबासीसहित सबै आगो नियन्त्रणमा जुटे । आगलागी भएको २० मिनेटमै आगो नियन्त्रणमा आयो । घाइतहरुको उद्दार गरियो । एम्बुलेन्समा राखेर घाइतेहरुलाई उपचारका लागि अस्पताल लगियो । भौतिक क्षती भएपनि समयमै आगो नियन्त्रण लिइँदा मानवीय क्षती भने हुन पाएन ।

तर, यो दृश्य यथार्थ भने थिएन । आगो लागेपछि आगोलाई कसरी नियन्त्रणमा लिने भन्नेबारे गरिएको एक कृत्रिम घटना अभ्यास थियो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा पूर्व तयारी स्वरुप गरिएको कृत्रिम घटना अभ्यासको दृश्य थियो त्यो । नेपालगञ्ज उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) र अन्य सरोकारवालाहरुको सहकार्य र सहभागितामा आगलागी सम्बन्धि कृत्रिम घटना अध्यास गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । नेपालगञ्जको रामलिला मैदानमा गरिएको कृत्रिम घटना अभ्यासमा सुपरले तालिम दिएका व्यक्तिहरु पनि खटिएका थिए ।

सुपरले हालसम्म प्राथमिक उपचार सम्बन्धि तालिम २४ जना, आगलागी नियन्त्रण सम्बन्धि २७ जना र खोज तथा उद्दार कार्यका लागि ३१ जनालाई तालिम दिएको सुपरका शिव सुवेदीले बताए । उनका अनुसार ४०० जनालाई तालिम दिने लक्ष्य छ । गर्मीको समयमा आगलागीका घटनामा बृद्धि हुने भएकाले आगलागी नियन्त्रण र व्यवस्थापनका लागि कृत्रिम अभ्यास उपयोगी हुने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । उनले पूर्व तयारीले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले बाँके उच्च तापक्रमका कारण गर्मीयामा आगलागीको उच्च जोखिममा रहेकाले सावधानी अपनाउनुपर्ने बताए । कृत्रिम घटना अभ्यासले आगलागीको नियन्त्रण, उद्दार तथा व्यवस्थापनमा राम्रो सिकाई हुने बताए । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख र अन्य सरोकारवाला निकाय उपस्थित थिए ।

Nabintech