नेपालगञ्ज : नेपालगञ्ज नाकामा ८ जनालाई कोरोना देखिएको छ । भारतको विभिन्न ठाउँबाट आएका बाँकेलगायत जिल्लाका ८ जनालाई कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए ।
भारतमा कोरोना देखिएपछि नेपाल फर्किनेमा संक्रमण देखा परिरहेको छ । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक नै संक्रमित फेला परिरहेका छन् । संक्रमण देखिएकाहरु सिधै घर गइरहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसाेलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।