काठमाण्डौ: असिनाले स्याउ र ओखरका फूल नष्ट भएका छन् । एक हप्ता अगाडि परेको असिना पानीले फुलेका स्याउको फूल नष्ट गरेको किसानले बताएका छन् । सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार असिना पानीले ८ हजारभन्दा बढी स्याउका विरुवाको फूल नष्ट गरिदिएको छ ।
स्याउ फुल्ने समयमा असिना आएपछि ठूलो क्षति भएको किसान पूर्णचन्द्र आचार्यले बताउनुभयो । पारीदेव, ओखलदुडिचौर, लामासिमलगायतका क्षेत्रमा झण्डै ८ हजार स्याउका विरुवामा असिनाले क्षति पुर्याएको छ । यस्तै, तिला गाउँपालिका वडा नम्बर ९ मा पनि असिना पानीले स्याउका विरुवामा नोक्सानी पुर्याएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार असिनाले क्षति पुगेको बगैँचाको अनुगमन गर्ने तयारी छ ।असिना पानीले क्षति पुर्याउन थालेपछि जुम्लामा स्याउका बोटको बिमा गर्न थालिएको छ । जुम्लाका ३ हजार ४ सय ६० जना किसानले स्याउका विरुवाको बिमा गरेका छन् ।