दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। बिहीबार दिउँसो १ बजेतिर घोराही ८ सौरीकी मधु बुढाथोकी केसीको मृत्युपछि आफन्तजनले प्रतिष्ठानमा शुक्रबार बिहानैदेखि आन्दोलन गरेका हुन्। पीडितले घटनाको तथ्य छानविन तथा क्षतिपूर्तिको माग राखेका छन्।
मृतकको क्षतिपूर्तिबापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले ब्यहोर्नुपर्ने तथा यस प्रकारका कमी कमजोरी प्रतिष्ठानले रोक्नुपर्ने, मृतकको शरीरको सबै अंग परीक्षण हुनुपर्ने माग राखेका छन्।
मृतकका श्रीमान् शेरबहादुर केसीका अनुसार सामान्य रुपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरूले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको मृत्यु भएको बताएका छन्।
उपचारमा संलग्न डाक्टर र नर्सहरूले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरूलाई कुनै पनि जानकारी नगराएको र बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आइसियूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएको समेत आरोप लगाएका छन्।
सुत्केरी हुनुअघि सबै स्वास्थ्य परीक्षण गर्दा सामान्य रिपोर्ट आएको थियो। पछि प्रतिष्ठानको लापरबाहीले सुत्केरीको ज्यान गएको उनीहरूको आरोप छ। शिशुको अवस्था भने सामान्य छ। प्रतिष्ठानले भने पीडितहरू सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको पीडितसमक्ष जवाफ दिएको छ।