१८ बैशाख २०८१, मंगलवार
आज एकैदिन १२ हजार जनाले अवलोकन गरे सदर चिडियाखाना

चिडियाखानाले हरेक वर्ष भोटो जात्राको अवसरमा टिकटमा पनि छुटको व्यवस्था गर्ने गरेको छ


  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १७:५७

काठमाण्डाै :जावलाखेलमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानामा आज वर्षकै सबैभन्दा धेरै अवलोकनकर्ता पुगेका छन् ।आज भोटो जात्राका अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएकाले जावलाखेलमा जात्रा हेर्न आउनेहरु  बिहानदेखि चिडियाखाना अवलोकन गर्न पनि पुगेका छन् । आज एकैदिन झण्डै १२ हजार जनाले चिडियाखाना भ्रमण गरेका चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो । यो सङ्ख्या पछिल्लो एक वर्षकै धेरै हो । उहाँका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष भोटो जात्राका दिनमा भने कम अवलोकनकर्ता आएका छन् । यसअघिका वर्षमा यस दिन झण्डै २२ हजार जनाले चिडियाखाना भ्रमण गर्ने गरेका थिए ।

उपत्यकामा आज बिहानैदेखि वर्षा भएकाले पनि चिडियाखाना आउनेको सङ्ख्या कम भएको हुनसक्ने सूचना अधिकारी कोइरालाको भनाइ छ । चिडियाखानाले हरेक वर्ष भोटो जात्राको अवसरमा टिकटमा पनि छुटको व्यवस्था गर्ने गरेको छ ।

साविकमा टिकटको दर वयस्कका लागि दुई सय रुपैयाँ, विद्यार्थीका लागि १ सय ३५ रुपैयाँ र जेष्ठ नागरिकका लागि १ सय रुपैयाँ हुने गरेकामा आज सबैलाई ७५ रुपैयाँमा टिकट दिइएको छ ।

Nabintech