जाजरकोट:जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन्। खाना खाएको अझै १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बिल लेखा शाखामा पुगेको छ।
एक वर्ष नबित्दै यत्रो बिल आएपछि आफूहरु हैरान भएको जनप्रतिनिधिले बताएका छन्। लेखा फाँटमा ठूलो बिल पुगेर केही भुक्तानी भएको र बाँकी १२ लाख भुक्तानी गर्दा विवाद भएपछि जनप्रतिनिधिले थाहा पाएको उनले बताए। जनप्रतिनिधिलाई जानकारी नै नदिएर भारी मात्राको बिल बनाई भुक्तानी गरेर कमिशनको ठूलो खेल भएको संयोजक खत्रीले बताए।
छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले ठूलो बिल आएको र अहिले छानबिन जारी रहेको बताए। बिलको अवस्था हेर्दा ठूलै घोटाला भएको अनुमान लगाउन सकिने ठाउँ रहेको बताए। फेक बिल बनाएको शंका लागेकै कारण छानबिन समिति बनाएर कामको थालनी गरेको उनले बताए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर आरसीले आफू त्यत्रो बिलको भुक्तानी नदिएको बताए। राम्रो काम गर्ने व्यक्तिको स्थान नहुने रहेछ भन्ने आफूलाई लागेको बताए। लेखा शाखामा सम्पर्क गर्न खोज्दा समेत फोन उठाइएन। एक वर्ष नपुग्दै भारी मात्रामा खाना खाएको ५४ लाख हुनु अनौठो भएको सरोकारवाला निकायले बताएका छन्।
अहिले जनप्रतिनिधि र कर्मचारीहरूबीच आरोप, प्रतिआरोप समेत सिर्जना भएको छ। जनप्रतिनिधिलाई फसाउन खोजिएको आरोप एक थरीको छ। सबै बिल जनप्रतिनिधिको मात्र नभएको अधिकृत आरसीको भनाई छ ।