हुम्ला:हुम्लामा भीरबाट खसेको ढुङ्गाले लाग्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको मृत्यु भएको हो।
अर्का एक बालक घाइते भएका छन्। घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन्। दुवैजना बाख्रा चराउन वनमा गएका थिए। रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। ऐडीको दाहिने हात भाँचिएको र उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए।