नेपालगञ्ज, बाँके: बाँकेको नेपालगञ्जमा जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अबसरमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी बाँकेको आयोजनामा नेपालगञ्ज पासाङ्ग लामु स्थित पार्टि कार्यालय परिसरमा बिभिन्न जातका बिरुवा रोपेर भण्डारीको ७२ औं जन्म जयन्ती मनाईएको हो ।
२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा पिता देवीप्रसाद भण्डारी र माता चन्दकुमारीका कोखबाट जन्मिएका स्व. मदन भण्डारी एमालेको चौथो र पाँचौँ महाधिवेशनबाट महासचिव बनेका थिए ।
विश्वबाट कम्युनिष्ट शासनहरू ढलिरहेका बेला ९० को दशकमा भण्डारीले जनताको बहुदलीय जनवादको नाममा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई जनतामा स्थापित गरेका थिए । राजा विरेन्द्रले समेत राष्ट्रबादि नेताका रुपमा चित्रित गरेका भण्डारीलाई विश्व प्रसिद्ध पत्रिकाहरूले मार्क्स नेपालमा जीवित छन् भनेर चर्चामा ल्याएका थिए ।
२०४८ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि विश्व चर्चित बनेका जननेता भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा परी निधन भएको थियो ।
बृक्षारोपन कार्यक्रममा चौतारीका पुर्व जिल्ला अध्यक्ष तथा अग्रज नेताहरु शिब डोटेल, मो.हारुन, लुम्बिनी प्रदेश सह ईन्चार्जद्धय रुद्र सुबेदी, टिका बस्नेत, केन्द्रिय सदस्य सकिल अहमद कादरी, चौतारी बाँके ईन्चार्ज डिल प्रकास गौतम, रुपन्देहि ईन्चार्ज भेषराज बस्नेत, जिल्ला अध्यक्ष दुर्गा रोकाय, गोबिन्द शर्मा लगायत चौतारी संबद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यसैबिच मदन भण्डारी फाउन्डेसन बाकेले कम्युनिस्ट पार्टीमा नैतिकता र कम्युनिस्ट आचरण बिषयक अन्तक्रिर्या कार्यक्रम समेत सम्पन्न गरेको छ ।