१० मंसिर २०८१, सोमबार
डेंगु सङ्क्रमण बढ्दै

पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेंगु संक्रमण


  • टाइम्स संवाददाता

  • २२ असार २०८०, शुक्रबार ०६:५४

काठमाडौं : नेपालमा डेंगुको संक्रमण बढिरहेको छ। पानी परेसँगै डेंगुका बिरामी बढ्न थालेका हुन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगुका बिरामी बढ्न थालेको जानकारी दिए।

उनका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेंगुका कारणले बिरामी परेका छन्। यो वर्ष अहिलेसम्म संक्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ।

महाशाखाका अनुसार काठमाडौँ ४६, ललितपुरमा १२ र भक्तपुर ३५ बिरामी भेटिएका छन्। यस्तै सबभन्दा बढी देखिएको दार्चुलामा एक सय ८७, धादिङमा एक सय ३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेंगुका बिरामी भेटिएका छन्।

उनले बर्खायाम शुरु भएसँगै डेंगुबाट बच्न आग्रहसमेत गरे। ‘अहिले दैनिक पानी परिरहेको छ। परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यही लामखुट्टेले फुल पार्छ’, उनले भने, ‘सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ।’

डेंगुपानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगुरोग लाग्छ। डेंगुले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेंगुसंक्रमणबाट जोगिन आग्रह गरेको छ।

लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ। यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेंगुदेखिएको र डेंगुबाट ८८ जनाको ज्यान गइसकेको छ। पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेंगु संक्रमण देखिएको छ। नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगु देखिँदै आएको छ।

Nabintech