१० मंसिर २०८१, सोमबार
कोहलपुरमा लामो दुरीको नयाँ बसपार्क उद्घाटन

पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएको लामो दूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको छ


  • टाइम्स संवाददाता

  • २४ असार २०८०, आईतवार १६:२२

बाँके: बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको आज उद्घाटन गरिएको छ ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमका बीच औपचारिक रुपमा बसपार्कको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री चौधरीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्य द्वारमा रहेको यो बस पार्क लुम्बिनी प्रदेशको गहनाको रुपमा रहेको  बताउनुभएको छ । उहाँले समग्र कोहलपुर विकासको लागि मुख्यमन्त्रीको नाताले कोहलपुरलाई विकसित सहरको रुपमा स्थापित गराउन आफू कहीँ कतै  नचुक्ने बताउनुभयो ।

३० करोड ६२ लाख ७ हजार ७०१ कुल लागतमा निर्माण गरिएको उक्त बसपार्क उद्घाटन भएसँगै साउनदेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ ।

बसपार्क निर्माणका लागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज रकम तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ ।

२० वटा लामो दुरीका बस, २२ वटा मध्यम दुरीका सवारी साधन तथा गाडी र अटोसहित ७९ वटा छोटो दुरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ वटा व्यवसायीक सटर, तीन वटा ब्लकमा २७ वटा शौचालय (३ वटा अपाङ्गमैत्री), २४ वटा टिकट काउण्टर, ग्यारेज सहित २ वटा विद्युतीय चार्जिङ सेन्टर, प्रहरी सुरक्षा कक्ष, स्तनपान कक्ष र धूम्रपान कक्ष निर्माण गरिएको छ ।

पश्चिम नेपालकै सुविधा सम्पन्न भनिएको लामो दूरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको छ । प्रालिले बसपार्क व्यवस्थापनसँगै प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको व्यवस्थापनको जिम्मा लिएको छ । प्रालिले तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरि ठेक्का लिएको हो ।

बसपार्कमा बस पार्किङ, टिकट काउन्टर सपिङ कम्प्लेक्स लगायतका संरचना छन् । बसपार्कमा तीन वटा प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैङ्क तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।

बसपार्क उद्घाटन भएपनि बसपार्कको संरचनासँगै निर्माण गरिएको ४ तले टर्मिनल भवनको भने ठेक्का लाग्न सकेको छैन । टर्मिनल भवन ठेक्काका लागि पाँचौँ पटक बोलपत्र आह्वान गरिएको र टेण्डर आह्वान गर्ने समय अझै बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

कार्यक्रममा नगर बिकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले निर्धारित समयमा यो बस पार्क सम्पन्न भएकोले यस पालिकाभित्र यस्ता ठुला खाले योजनामा सहयोग गर्ने  प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद दुर्गा बहादुर चौधरी, कृष्णा केसी नमुना, सन्जु थारु, बसन्ती अधिकारी, कोहलपुर नगरपालिकाका पूर्व नगरप्रमुख लुट बहादुर रावत लगायतको सहभागिता रहेको थियो ।

अत्याधुनिक सपिंग कम्प्लेक्ससहितको बसपार्क साढे ३० करोड लागतमा निर्माण सम्पन्न भएको हो । नगर विकास कोषसंगको ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको हो । नगर विकास कोषको ६० प्रतिशत र कोहलपुर नगर विकास समितिको ४० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भएको कोहलपुर नगरपालिकाले जनाएको छ । बार्षिक ८ प्रतिशत व्याज रकम तिर्ने गरी २० बर्षका लागि नगर विकास कोषसंग सम्झौता भएको छ । २०७७ असोज २३ गते तत्कालीन नगर प्रमुख लुटबहादुर रावतले नगर विकास कोषससंग सम्झौता गरेका हुन् । २०७७ फागुन २४ गतेबाट बसपार्क निर्माण कार्य सुरु गरिएको थियो । २०७९ फागुन २५ गते निर्माण सम्पन्न भएको थियो ।

Nabintech