१२ मंसिर २०८१, बुधबार
खजुराको क्यान्सर अस्पताललाई बस र एम्बुलेन्स प्रदान

  • टाइम्स संवाददाता

  • ३१ असार २०८०, आईतवार १६:३६

खजुरा ,बाँके : नेपालको नारायणी नदी पश्चिमको एक मात्र क्यान्सर अस्पताल सुशिल कोईराला प्रखर क्यान्सर अस्पताललाई भारत सरकारले १ थान एम्बुलेन्स र १ थान बस उपलब्ध गराएको छ ।

भारतीय राजदुताबासमा आइतवार एक कार्यक्रमकाबीच अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईलाई एम्बुलेन्स र बस हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री अशोक कुमार राई र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण गरिएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

नेपालगञ्जदेखि ८ किलो मिटर पश्चिम रहेको अस्पतालसम्म पुग्न स्थानीय यातायात ब्यवसायीहरुले सार्वजनिक यातायातको ब्यवस्था नगरिदिँदा अस्पताल पुग्ने बिरामीलाई सास्ती खेप्न परिरहेको थियो ।

अस्पतालको आफ्नै एम्बुलेन्स र बस भएपछि अस्पतालको सेवा लिने विरामीहरुलाई सहज हुने अस्पतालका मेसु डा. भट्टराईले विश्वास ब्यक्त गरे । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको अस्पतालको अनुरोधलाई छोटो समयमै सम्बोधन गरिदिएकोमा भारतीय दुतावास परिवारलाई उनले धन्यवाद दिए ।

धार्मिक अगुवा संत दीनदयालजीको संकल्पमा जनसहयोगबाट स्थापना भएको सो अस्पताल २०७२ सालमा नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि संघीय सरकारले सञ्चालन गर्दै आएको छ ।

Nabintech